२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी(जसपा)को औपचारिक विभाजनका लागि निर्वाचन आयोगले आगामी साउन तीन गतेबाट सुनुवाइ सुरु गर्ने भएको छ । आयोगको आज बसेको बैठकले पाँच सदस्यीय इजलास गठन गर्दै तीन गतेबाट सुनुवाइ सुरु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘आयोगको आज बसेको बैठकले पाँच सदस्यीय इजलास गठन गर्दै तीन गतेबाट सुनुवाइ गर्ने निर्णय गरेको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘कानुनमा ७ दिन म्याद दिनु पर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुरुप म्याद दिएर तीन गनेबाट सुनुवाइ गर्ने निर्णय गरेका हौं ।’
प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले आजै पार्टीका दुवै पक्षलाई कानुन व्यवसायी मुकरर गर्ने भए गरेर पठाइदिन भन्दै पत्राचार गरेको छ ।
इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, जानकी तुलाधर र सगुन समशेर जवरा छन् ।
आयोगले जसपामा सहमति गराउन भन्दै मंगलबार दुवै समूहलाई बोलाएको थियो । तर, उनीहरूले कानुन अनुरुप छुट्याउने प्रक्रिया सुरु गर्न मञ्जुरीनामा दिएपछि आयोगले आज इजलास गठन गर्दै सुनुवाइको मिति तोकेको हो ।
सत्ता समीकरणमा देखिएको विवादका कारण जसपा विभाजनसम्म पुगेको हो । जसपाको संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा लागेका छन् ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ एमालेतर्फ लागेका छन् । महन्थ समुह ओली सरकारमा सामेल समेत भएर अदालतको आदेश पछि बाहिरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij