२०८२ भाद्र २४ गते मंगलवार
रुद्रसिंह तामाङ सहसचिव
लोकसेवामा अक्सर परीक्षार्थीले गर्ने गल्ती के हुन् ?
कतिपय विद्यार्थीले प्रश्नै बुझेका हुँदैनन् । प्रश्नै नबुझी लेखिएको उत्तरबाट पक्कै पनि राम्रो परिणाम आउँदैन । त्यस्तै, कतिपयको स्वभाव बहकिएर लेख्ने हुन्छ । यसरी लेख्दा उत्तर भद्दा र लामो हुन जान्छ । केही परीक्षार्थी भने प्रश्नले के खोजेको छ, त्यतातिर नगई अन्त–अन्त गएर उत्तर लेखिरहेका हुन्छन् । कतिपयलाई चाहिँ उत्तरको सुरुवात कहाँबाट गर्ने भनेर पिरलो परेको जस्तो देखिन्छ ।
बढी अंक पाउन परीक्षार्थीले के–के कुरामा ध्यान पु-याउनुपर्छ ?
सबैभन्दा पहिला विषयवस्तु बुझ्नुपर्छ । प्रश्नले के खोजेको हो, त्यसमा प्रस्ट हुनुपर्छ अनि मात्र लेख्न सुरु गर्नुपर्छ । सोधिएको विषयवस्तुलाई समसामयिक विषयवस्तु र घटनाक्रमसँग ‘लिंक अप’ गर्नुपर्छ । यसो गर्दा उत्तर जीवन्त हुन्छ । कम अंकभार भएका छोटा प्रश्नमा प्रश्नले भनेको विषयवस्तु ठ्याक्कै लेख्नुपर्छ । यसका लागि स्मरणशक्तिको बढी जरुरी हुन्छ । लामो उत्तरमा भने अलिक बढी व्याख्या आवश्यक हुन्छ । यसका लागि भाषा र शैलीमा ध्यान पु-याउनुपर्छ । लेखिएका विषयवस्तु स्पष्ट हुनुपर्छ । विषयवस्तुको प्रस्तुतिमा शंका–उपशंका सिर्जना हुनुहुँदैन ।
परीक्षार्थीले उत्तर लेख्दा कस्तो शैली अपनाउनुपर्छ ?
संसारमा सबैले राम्रो खोज्छन् । उत्तरमा सबैभन्दा पहिले खोज्ने भनेको प्रस्तुति नै हो । दोस्रो विषयवस्तु । तेस्रो जवाफको मिठास र सटिकता । र, चौथोमा सकारात्मक र नवप्रवर्तनीय अवधारणा तथा प्रभाव । परीक्षार्थीले यो पाटोमा पनि ध्यान पु-याउनुपर्छ ।
लोकसेवाको तयारी कसरी गर्नुपर्छ ?
परीक्षाको तयारी व्यक्तिअनुसार फरक हुन्छ । तयारीको कुनै निश्चित मानक र मापदण्ड छैन । कसैले एउटा विधिबाट तयारी गरेको हुन्छ, ऊ सफल हुन्छ भने त्यसको फरक विधिबाट पढ्ने परीक्षार्थी पनि सफल भएको हुन्छ । फरासिलो छ भने उसले घोक्छ, अन्तर्मुखी छ भने उसले आफ्नै तरिकाले दिमाग लगाएर पढ्छ । स्मरणशक्ति तीक्ष्ण हुनेले घोक्दा हुन्छ । त्यस्तो नहुनेले समसामयिक विषयवस्तुसँग अन्तरसम्बन्ध कायम गरेर माला उनेको शैलीमा उत्तर दिन पनि सक्छन् । कसैको बानी टिपोट गर्दै पढ्ने पनि हुन्छ । तसर्थ, जसरी पढ्दा आफूलाई सहज र प्रभावकारी हुन्छ जस्तो लाग्छ, त्यही विधि अँगाल्नुपर्छ ।
परीक्षा हलभित्र छिरेपछि परीक्षार्थीले के–केमा ध्यान पु-याउनुपर्छ ?
सबैभन्दा पहिला परीक्षार्थीमा आत्मविश्वास हुनुपर्छ । प्रश्न नबुझेमा आत्तिनु हुँदैन । कुनै प्रश्नमा अलमल भएमा त्यसमै अड्किनु हुँदैन, त्यस्तो मामिलामा सम्बन्धित प्रश्न दिमागमा राखेर स्पष्ट भएपछि मात्र लेख्नुपर्छ । तर, मैले यो प्रश्नको उत्तर पूरा गर्न बाँकी नै छ भन्नेमा निर्धारित समयभित्रै ध्यान पु-याउनुपर्छ । अड्किने र नर्भस हुने बानी त्याग्नुपर्छ । अन्तिम घन्टी बज्दासम्म प्रधिस्पर्धामा भाग लिनुपर्छ । समय व्यवस्थापनमा चनाखो हुनुपर्छ । त्यस्तै, अन्तिममा आफ्नो नाम, जाँच दिएको पद र विषय, सिम्बोल नम्बर पुनः रुजु गर्नुपर्छ । आफूले लेखेको उत्तरको पनि छोटो रुजु गर्नुपर्छ । सामान्य विषयमा पनि ध्यान पु-याउनुपर्छ ।
(तामाङ पर्यटन विभागका महानिर्देशक हुन्)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij