२०८२ भाद्र २४ गते मंगलवार
लोकसेवा आयोगले पूर्णता पाए पछि यही साता नेपाल सरकारका १० सहसचिव सचिवमा बढुवा हुने भएका छन् । लोक सेवा आयोगमा पदाधिकारी नहुँदा रोकिएको बढुवा प्रक्रिया आइतबारदेखि सुरु भइसकेको छ । हाल सचिवका नौ दरबन्दी रिक्त छन् । बिहीबारबाट थप एक दरबन्दी रिक्त हुने छ । १० पदमा बढुवाका लागि तीन दर्जन सहसचिवबीच प्रतिस्पर्धा छ ।
आयोगमा पदाधिकारी नियुक्त भएसँगै सचिव बढुवालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको छ । जसअनुसार आइतबार आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षमा सचिव बढुवा सिफारिस समितिको पहिलो बैठक बसेको लोक सेवा आयोग स्रोत बताउँछ ।
हाल राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख कार्यालय, कर्णाली प्रदेश कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको १÷१ पद रिक्त छ । १० पदमध्ये ३ पद प्राविधिक छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी) र शिक्षा विज्ञान तथा प्रविधि (विज्ञान प्रविधि) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त रहेकोमा त्यसमा भने प्राविधिक सहसचिवको बढुवा हुनेछ ।
सचिवहरु तीर्थराज ढकाल, विष्णु नेपाल, मानबहादुर बिके, चन्द्रमान श्रेष्ठ, विश्वनाथ ओली, प्रेमनारायण कँडेल, मधुसुदन अधिकारी, सञ्जय शर्मा, माधव बेल्वासे, गोपीनाथ मैनाली र डा हरि पौडेलले अवकाश पाएका पद रिक्त भएका हुन् । बिहीबार रक्षासचिव रेश्मीराज पाण्डेले समेत अकावश पाउँदैछन् । ।
लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ । जसअनुसार ३० सहसचिवको नाम सिफारिस हुनेछ । सामान्यतया बरिष्ठताकै आधारमा सिफारिस हुन्छ । रिक्तमध्ये एक तिहाई पदमा बरिष्ठताकै आधारमा बढुवा गर्नुपर्ने भएकाले तीन सिनियर सहसचिव सचिव बन्ने पक्का जस्तै छ ।
हाल सचिव बढुवाको प्रतिस्पर्धामा रहेका बरिष्ठ सहसचिवहरुमा कृष्ण कुमार राउत, दामोदर रेग्मी, कृष्णहरी पुष्कर कर्ण, किरणराज शर्मा, राम प्रसाद घिमिरे, हरि प्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, मुकुन्द निरौला, रामेश्वर दंगाल छन् ।
त्यस्तै, रविलाल पन्थ, शंकर खरेल, विनोद प्रकाश सिंह, गोपीकृष्ण खनाल, घनश्याम उपाध्याय, राधिका अर्याल, दीपक काफ्ले, दिनेश कुमार घिमिरे, नारायण प्रसाद शर्मा दुवाडी, केदारनाथ शर्मा, प्रेम कुमार श्रेष्ठ, लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की, महादेव पन्थ, काशिराज दाहाल, रघु बिष्ट, बाबुराम अधिकारी, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल पनि सिनियर हुन् । उनीहरुमध्येबाट नै सचिव बढुवा हुने सम्भावना छ ।
बढुवा र पदस्थापनसँगै सचिवहरुको हेरफेरको तयारी समेत भइरहेको स्रोत बताउँछ । खासगरी प्रदेशमा रहेका सचिव मन्त्रालयमा आउने र नयाँ बढुवा हुने प्रदेशमा जाने सम्भावना छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij