२०८२ पौष ४ गते शुक्रवार
काठमाडौं । आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लघुवित्तको आइपीओमा असार १५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार २५ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ ।
सञ्चालनमा आएको २ वर्षमै १३८ शाखा विस्तार
यस लघुवित्त २०६९ साउन २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो भने २०७५ फागुन १६ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित पाएको थियो।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको लघुवित्तले २०७५ फागुन १६ देखि औपचारिक रुपमा कारोबार शुरु गरेको थियो । यद्यपि, लघुवित्तले अनौपचारिक रुपमा भने डेढ दशक अघिदेखि कारोबार गर्दै आएको थियो ।
सञ्चालनमा आएको २ वर्षको अवधिमा लघुवित्तले १९ जिल्लाहरुमा १३८ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ । लघुवित्तको केन्द्रीय कार्यालय प्रदेश १ को मोरङको कटहरी गाउँपालिका वडा नं। २ मा रहेको छ ।
लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
१ अर्ब अधिकृत पूँजी रहेको लघुवित्तको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । हाल ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।
आइपीओपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ६७.५० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३२.५० प्रतिशत रहने छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । हाल ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।
चालू आवको चैत मसान्तसम्म लघुवित्तले १० अर्ब १७ करोड सापटी र ७ अर्ब १७ करोड निक्षेप संकलन गरी कुल २० अर्ब ७ करोड कर्जा लगानी गरेको छ ।
चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ । आगामी वर्ष २०७८/७९ मा लघुवित्तको प्रतिसेयर आम्दानी १२१.३७ रुपैयाँ र आव २०७९/८० मा १५३.५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्ष २०७६/७७ सम्म ४० करोड ७ लाख रुपैयाँ सञ्चित नाफा रहेको लघुवित्तले आव २०७९/८० सम्ममा यस्तो नाफा २ अर्ब ११ करोड २४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ।
लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।
को-को छन् प्रमोटर सेयर होल्डर ?
कुल चुक्त पूँजीको ६७.५० प्रतिशत संस्थापक सेयर स्वामित्व रहने लघुवित्तमा मुख्यगरी १४ व्यक्ति तथा संस्थाहरु प्रमोटर सेयर होल्डरका रुपमा रहेका छन् ।
लघुवित्तको मुख्य संस्थापक सेयर होल्डरको रुपमा जीवन विकास समाज नामक एनजीओ रहेको छ । संस्थामा यसको १२ करोड ५० लाख रुपैयाँ लगानी अर्थात् १२ लाख ५० हजार कित्ता सेयर हिस्सा रहेको छ । यो कुल सेयर हिस्साको २० प्रतिशत हो ।
यस्तै, दोस्रो ठूलो प्रमोटर सेयर होल्डरको रुपमा प्रभु क्यापिटल लिमिटेड ९साविकको समृद्धि क्यापिटल० रहेको छ । यसको कुल ५ लाख ५० हजार ५०० कित्ता सेयर हिस्सा रहेको छ । यो कुल चुक्ता पूँजीको ९ प्रतिशत हिस्सा हो ।
यसैगरी, लघुवित्तमा एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट कम्पनीको ३ लाख ७५ हजार कित्ता, सल्भ नेपाल संस्थाको २ लाख ८३ हजार ८६० कित्ता, सामुदायिक महिला विकास केन्द्रको ५२ हजार कित्ता र एनआइसी एशिया बैंकको १ लाख २९ हजार ९६० कित्ता सेयर रहेको छ ।
यसैगरी, योगेन्द्र मण्डल २ लाख २६ हजार १३८ कित्ता, संजयकुमार मण्डल १ लाख ६५ हजार २५० कित्ता, श्यामचन्द्र खतिवडा १ लाख १४ हजार २५० कित्ता, भरतलाल बहरदार २ लाख १२ हजार ७८७ कित्ता, अजयकुमार मण्डल ५४ हजार ९०० कित्ता सेयर लगानी रहेको छ ।
यस्तै, शान्तकुमारी मण्डल र इन्द्रनारायण देव ५०५० हजार कित्ता, रोहित भण्डारीको ५२ हजार ४०० कित्ता सेयर रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij