२०८२ माघ १९ गते सोमवार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा वृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । संघले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो ।
सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ । उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ । सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेका संघले जनाएको छ ।
सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरुलाई नेपासंग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष डा. बद्रि केसीले जानकारी दिए ।
उनले एकता महाधिवेशनले गैरआवसीय नेपालीहरुको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे । नेपालबाहिर रहेका नेपालीहरुलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए। हाल बाहिर रहेका करिव ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोवास गरिरहेका छन् ।
विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाई छ । परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij