२०८२ माघ १३ गते मंगलवार
गोरखा । गोरखामा खेत जोतेर फर्किंदै गर्दा लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईंले जानकारी दिए । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किंदै थिए ।
शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कंदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईंले जानकारी दिए ।
मंगलवार साँझ घटना भएको उनले बताए । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उनी घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईंले जानकारी दिए ।
घटनाको खबर प्राप्त भएलगत्तै बुंकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि बुधवार परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij