२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न विप्लव समूहलाई आग्रह गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको हो ।
‘आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ । व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ’ आयोगले बुधबार विज्ञप्ति जारी गरेर भनेको छ ।
नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्नुका साथै आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको आयोगले स्मरण गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij