२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका छन् ।
साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको बताएको छ । घाइते हुनेमा साउदी, भारतीय, नेपाली र इजिप्टका नागरिक रहेको सुरक्षा निकायले जनाएको छ । साउदी प्रेस एजेन्सीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ । घाइतेको पूरा विवरण भने खुलाइएको छैन ।
केही दिनको अन्तरालमा दोस्रोपटक आक्रमण भएको हो । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ ।
तीनजना प्रत्यक्षदर्शीका अनुसार आक्रमणको निशानामा रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)स्थित पीआईएफ टावर परेको थियो । यस भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय छ । गत बिहीबार पनि यो भवन आक्रमणमा परेको थियो ।
सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जालमा वित्तीय केन्द्रको टावरमा ‘कायरतापूर्ण आतंकवादी हमला’ भएको बताएका छन् ।
समाचार एजेन्सी एएफपीलाई एक स्रोतले बताएअनुसार गत साताको आक्रमणबाट भएको क्षति मर्मत गर्न कामदारहरू टावरभित्रै रहेका बेला पुनः आक्रमण भएको थियो । घाइतेमध्ये कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । सीएनएबाट ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij