२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार बिहान करिब पौने ४ बजे प्रहरीले इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको हो ।
चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो । झडपका क्रममा दुवै पक्षबीच ढुंगामुढा हुनुका साथै अगुल्टोसमेत प्रहार भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । घटनामा प्रहरी सहायक निरीक्षक (सई) सहित चार जना प्रहरी घाइते भएका छन् ।
दुई पक्षबीचको झडपले उग्ररूप लिएपछि सम्भावित मानवीय क्षति रोक्न प्रहरीले हवाई फायर गरेको जनाएको छ । झडपमा एक जना सर्वसाधारणसमेत घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
उक्त मेला जागरण युवा क्लब चिसापानी, बाँकेले आयोजना गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Convert to PDF
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij