२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ खहरेमा दाउरा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय नन्दलाल बजगाईँ रहेका छन् । उनको हत्या गरेको आरोपमा स्थानीय ४० वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन् ।
गत कात्तिक ६ गते साँझ करिब ६ बजे बजगाईँ र लम्तरीबीच विवाद भएपछि झैझगडा भएको थियो । सोही क्रममा लम्तरीले दाउराले बजगाईँको टाउकोलगायत शरीरका विभिन्न भागमा पटक–पटक प्रहार गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका बजगाईँलाई उपचारका लागि पाल्पा अस्पताल तानसेन लगिएको थियो । उपचारकै क्रममा साँझ करिब साढे ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका लम्तरीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोजी सुरु गरेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंसिर ७ गते रैनादेवी छहरा गाउँपालिका–४ छहराबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लम्तरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij