२०८२ कार्तिक १९ गते बुधवार
विराटनगर । वनको कर्मचारी हौँ भन्दै काठ मिलसँग असुली गर्ने दुई जनालाई पत्रकार परिचय पत्रसहित प्रहरीले पक्राउ गरेको छ ।
फर्निचर उद्योगहरुमा वनको कर्मचारी हौँ, आर्थिक सहयोग नगरे राम्रो नहुने भन्दै चेतावनी दिने दुई जनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ ।
वन कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग पुगेका उनीहरुले सहयोग नगरे अप्ठेरो पर्ने चेतावनी दिँदै आएका थिए ।
उनीहरुले मोरङका २५ वटा मिलमा ठगी गरेको देखिएको र उनीहरुको साथबाट पत्रकार परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ ।
रतुवामाई नगरपालिका–१० मा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईवेनी स–मिलमा पुगेका उनीहरुलाई चन्दा उठाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ परेका दधिराम चौहानको साथबाट २५ हजार ९ सय ९५ नगद र पुष्पप्रसाद सिग्देलको साथबाट ७ हजार नगद बरामद गरिएको प्रवक्ता राईले बताए ।
उनीहरुको साथबाट सृष्टि साप्ताहिक, सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड, चन्दा उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्ट, जनमत साप्ताहिक र बराह साप्ताहिकबाट जारी भएको परिचय पत्र बरामद भएको र बरामद भएका पत्रकार परिचय पत्रहरूको म्याद नरहेको राईले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij