२०८२ कार्तिक १८ गते मंगलवार
                                                    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सदनमा विश्वासको मत लिँदै छन् । गएको शनिबार गठित नेपाली कांग्रेसका पोखरेल नेतृत्वको चारदलीय गठबन्धन सरकारले विश्वासको मत लिन लागेको हो ।
आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ । संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
स्वतन्त्र एकसहित ३१ सांसदको समर्थनमा बनेको सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटमाथिको छलफल सुरु गर्ने तयारी छ । कुल ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद संख्या ५९ कायम भएको छ ।
मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अहिलेको स्थितिमा ३० सांसदको विश्वास प्राप्त गरे पुग्छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्को कार्यविभाजन र विस्तार हुने प्रवक्ता खड्काले जानकारी दिए ।
विश्वासको मत लिएपछि मात्रै चार मन्त्रीको कार्यविभाजन, मन्त्रिपरिषद् विस्तार तथा बजेटमाथि छलफल सुरु गरिने तयारी छ । यहाँ मन्त्रिपरिषद् विस्तार गर्न सहज छैन ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij