Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

आज दिनभरको ३८ खबर एकै ठाउँमा

आज दिनभरको ३८ खबर एकै ठाउँमा


  • 274
    Shares

    आज दिनभरको ३८ खबर एकै ठाउँमा
    images

    १. संसदीय समिति भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट छः ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभएको छ ।बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपसमिति सदस्य महरले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको बताउनु भयो । 

    २. बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो

    सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । यसअघि १२ वर्ष रहेकोमा बुधवारको मन्त्रीपरिषद् बैठकले उक्त अवधि छोट्याएर ४५ दिन बनाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनु भयो । त्यस्तै सरकारले ाष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।

    ३. पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित

    निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक कार्यविधि सर्वसम्मतिले पारित गरेको हो । समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो । 

    ४. नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी

    नेपाली काँग्रेसको १५ औं महाधिवेशन जारी छ । अचानक आएको भीषण वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रश्ताव तथा प्रतिवेदनमाथिको छलफल निष्कर्षमा पु¥याई पारित गर्ने तयारी गरिरहेका बेला प्रतिकूल मौसमका कारण कार्यक्रम अवरुद्ध हुन पुगेको हो । काँग्रेसको केन्द्रिय कार्यालयले दिएको जानकारीअनुसार महाधिवेशनको आजको मुख्य कार्यसूची विभिन्न सांगठनिक तथा नीतिगत प्रतिवेदनहरूमाथि छलफल गरी तिनलाई अनुमोदन गर्ने रहेको थियो । 

    ५. नेपाली काँग्रेसको १५ औँ महाधिवेशनः किशोर सिंह राठौरद्वारा सभापतिको उम्मेदवारी फिर्ता

    काठमाडौंमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा नेता किशोर सिंह राठौरले पार्टी सभापतिको उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ । पार्टीभित्रको असहज परिस्थिति र वृहत्तर हितलाई मध्यनजर गर्दै आफूले सभापतिको दौडबाट पछि हटेर सभापति गगनकुमार थापालाई समर्थन गर्ने निर्णय लिएको उहाँले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । राठौरले उम्मेदवारी फिर्ता लिनुको पछाडि कुनै ‘बार्गेनिङ’ नभएको दाबी गर्नुभएको छ । उहाँले कुनैपनि पदको प्रलोभनमा नपरी पार्टीको हित र कार्यकर्ताको भावनालाई कदर गर्दै यो निर्णय लिएको बताउनु भयो । 

    ६. नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत

    नेपाल कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले नेपाली कम्युनिस्ट आन्दोलन पछिल्लो समय ध्रुविकरणबाट एकीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सशस्त्र संघर्ष र शान्तिपूर्ण प्रतिष्पर्धाको उचित संयोजन नै नेपालको सामाजिक रूपान्तरणको मुख्य आधार भएको दाबी गर्नुभएको हो । 

    ७. निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर छानबिन गरौँः खुश्बु ओली

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    ८. जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी–खर्चबीचको खाडल भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

    ९.जनकपुरधाममा विजयादशमीको रौनकः शक्तिपीठहरूमा भव्य तयारी

    नेपालीहरूको महान चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तिब्र पारिएको छ । यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका दर्जनौँ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाअर्चना गर्ने तयारी भइरहेको छ । जनकपुरधाममा यसवर्षको दशैँलाई विशेष बनाउन स्थानीय युवा क्लवहरू सक्रिय रूपमा जुटेका छन् । राजा जनकका कुलदेवी मानिने प्रसिद्ध राजदेवी मन्दिर परिसरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा विभिन्न समिति तथा उपसमिति गठन गरेर काम गरिरहेको छ । 

    १०. केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ

    नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताउनुभएको हो । नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

    ११. आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौति दिनुभएको छ । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसँग जोडिएका कुनै गैरकानूनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए निष्पक्ष रुपमा छानविन गरी सार्वजनिक गर्न चुनौति दिनुभयो ।

    १२. ‘हेडक्वाटर’बाट परिचालित समूहले नियोजित रूपमा बद्नाम गरेः खगेन्द्र सुनार

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको छ । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही सञ्चार माध्यम र व्यक्तिहरूले आफूलाई जोडेर भइरहेका चर्चा र आरोपहरूको खण्डन गर्दै आफ्नो सम्पती तथा आर्थिक स्रोतको उच्चस्तरीय छानबिनका लागि तयार रहेको बताउनु भयो ।

    १३. ‘पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु’–उदयशमशेर राणा

    नेपाली काँग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभएको हो । नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिङ्गो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताउनु भयो । राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाउनु भयो । 

    १४. ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’

    नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्रोत, सहयोग र क्षतिपूर्तिको माग गर्दै आए पनि त्यसलाई बलियो बनाउने आन्तरिक तयारी कमजोर देखिएको छ । जलवायु वित्तमा पहुँच, स्थानीय तहको क्षमता, हिमाली मुद्दाको अन्तर्राष्ट्रिय पैरवी, राष्ट्रिय प्राथमिकता र राज्य–नागरिक समाजबीचको प्रभावकारी समन्वय हुन नसक्दा नेपालको जलवायु न्यायको दाबी अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको हो । 

    १५. इकोवास अदालतमा पाँच नयाँ न्यायाधीशद्वारा पद तथा गोपनीयताको शपथ

    पश्चिम अफ्रिकी देशहरूको आर्थिक समुदाय (इकोवास) अन्तर्गतको अदालत (कम्युनिटी कोर्ट अफ जस्टिस) मा पाँच नयाँ न्यायाधीशहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अबुजामा अवस्थित मुख्यालयमा आयोजित विशेष समारोहका बीच उनीहरूले चारवर्षे गैर–नवीकरणीय कार्यकालका लागि पदभार सम्हालेका हुन् । शपथ ग्रहण समारोहमा इकोवासका अध्यक्ष तथा सेनेगलका राष्ट्रपति बासिरु डिओमे फेले नवनियुक्त न्यायाधीशहरूलाई बधाई दिँदै आफ्नो कर्तव्य इमानदारी र निष्पक्षताका साथ पूरा गर्न आग्रह गरेका छन् । 

    १६. केन्यामा इबोला भाइरसको पहिलो संक्रमण पुष्टिः संक्रमित व्यक्तिको मृत्यु

    केन्यामा पहिलो पटक ‘बुन्दिबुग्यो’ इबोला भाइरसको संक्रमण पुष्टि भएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा लामो समयदेखि बसोबास गर्दै आएका एक केन्याली नागरिकको उपचारका क्रममा नैरोबीको अस्पतालमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले संक्रमणको पुष्टि गरेका हुन् । केन्याका स्वास्थ्य मन्त्री एडेन डुवालेकाअनुसार मृतक व्यक्ति विगत सात वर्षदेखि डिआरसीको इतुरी प्रान्तमा बसोवास गर्दै आएका थिए । 

    १७. मनिलामा ‘कम्फर्ट वुमन’ को सम्झनामा प्रदर्शनीः युद्धकालीन यौन हिंसाको पीडा र न्यायको खोजी

    दोस्रो विश्वयुद्धका क्रममा जापानद्वारा ‘कम्फर्ट वुमन’ बनाइएका फिलिपिनी महिलाहरूको दर्दनाक कथा र उनीहरूले खोजेको न्यायलाई केन्द्रमा राखेर मनिलामा विशेष प्रदर्शनी शुरु भएको छ । ‘लीला फिलिपिना’ नामक संस्थाको आयोजनामा जारी यस प्रदर्शनीले युद्धकालीन यौन हिंसा र त्यसपछिको निरन्तर उपेक्षाको विषयलाई पुनः बहसमा ल्याएको छ । सन् १९४२ देखि १९४५ सम्मको अवधिमा करिव १ हजार फिलिपिनी महिला तथा किशोरीहरूलाई जापानी सेनाले बलपूर्वक यौन दासी बनाउन बाध्य पारेका थिए । युद्ध सकिएको दशकौँ बितिसक्दा पनि पीडितहरूको घाउ अझै निको हुन सकेको छैन । यसै यथार्थलाई भावी पुस्तासामु पु¥याउने उद्देश्यले मनिला सिटी हलभित्रको संग्रहालयमा अक्टोबर १४ सम्मका लागि उक्त प्रदर्शनी सञ्चालन गरिएको छ । 

    १८. मोन्टेनेग्रोमा २३७ मिलियन युरोको लागतमा बुडभा बाइपास निर्माण शुरु

    मोन्टेनेग्रोले आफ्नो प्रमुख पर्यटकीय शहर बुडभाको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले २३७.४७ मिलियन युरो (करिव २६५ मिलियन अमेरिकी डलर) लागतको बाइपास सडक निर्माण शुरु गरेको छ । सोमवार एक विशेष समारोहबीच प्रधानमन्त्री मिलोज्को स्पाजिक र चिनियाँ राजदूत चेन सुफेङले उक्त रणनीतिक सडक परियोजनाको शिलान्यास गरेका हुन् । 

    १९. यमनको रणनीतिक मोखा बन्दरगाह नियन्त्रणमा लिएको सरकारी सेनाको दाबी

    यमनको सरकारी सेनाले दक्षिण–पश्चिम ताइज प्रान्तस्थित लाल सागरको रणनीतिक महत्वको बन्दरगाह सहर ‘मोखा’ विद्रोही हुथी समूहबाट फिर्ता लिएको सोमवार दाबी गरेको छ । बाब अल–मान्देब जलडमरु नजिकैको यो महत्वपूर्ण बन्दरगाह पुनः कब्जामा लिनुलाई यमनको गृहयुद्धमा एक निर्णायक मोडको रूपमा हेरिएको छ । सरकारी सञ्चारमाध्यम ‘सबा’ ले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार नेशन्स शिल्ड फोर्स, सरकारी समर्थक जायन्ट्स ब्रिगेड र तिहामा रेसिस्टेन्सको संयुक्त टोलीले हवाई हमलाको साथमा सहरको बाहिरी इलाकामा भीषण संघर्षपछि प्रवेश गरेका थिए ।

    २०. लाओस सरकारको प्राथमिकताः २०२६ को अन्तिम तीन महिनामा आर्थिक स्थिरता र पूर्वाधार विकासमा जोड

    लाओस सरकारले सन् २०२६ को अन्तिम तीन महिनालाई आर्थिक वृद्धि र वित्तीय स्थायित्वको वर्षका रूपमा परिभाषित गर्दै सातवटा मुख्य प्राथमिकता निर्धारण गरेको छ । राजधानी भियनतियनमा आयोजित लाओसको १० औँ व्यवस्थापिकाको दोस्रो नियमित अधिवेशनमा प्रधानमन्त्री सलेमक्से कोम्मासिथले राष्ट्रिय सामाजिक–आर्थिक विकास योजनाका महत्वपूर्ण बुँदाहरू प्रश्तुत गर्दै सो घोषणा गरेका हुन् । 

    २१. वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको आक्रमण तिब्रः घर खरानी भएपछि प्यालेस्टिनीहरूको उठीबास

    उत्तरी वेस्ट बैंकको जालुद गाउँमा यहुदी बस्ती विस्तारक (सेटलर) हरूको आक्रमणका कारण स्थानीय प्यालेस्टिनी नागरिकहरूको उठीवास भएको छ । वर्षौंको मेहनत र लाखौँको लागतमा निर्मित आवासगृहहरूमा आगजनी गरिएपछि धेरै परिवार आफ्नै थाँतथलोबाट विस्थापित भई मानसिक तथा आर्थिक संकटमा धकेलिएका छन् । वेस्ट बैंकस्थित जालुद गाउँका ६० वर्षीय महमूद तुबासी हरेक दिन आफ्नो बुबाको घरको छतमा उभिएर टाढा रहेको खरानी बनेको आफ्नै घरलाई हेर्न बाध्य छन् । 

    २२. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्द्वारा चीनको प्रश्तावमा ‘सबैका लागि पहुँच’ सम्बन्धी संकल्प प्रश्ताव पारित

    जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६३ औँ अधिवेशनले ‘सबैका लागि सबै मानव अधिकारको पूर्ण उपभोगका लागि पहुँचको प्रवद्र्धन’ शिर्षकको संकल्प प्रश्तावलाई सोमबार सर्वसम्मत रूपमा पारित गरेको छ । चीनको नेतृत्वमा ४७ देशले सह–प्रायोजन गरेको यो प्रश्तावले वृद्ध जनसङ्ख्या र उदीयमान प्रविधिको सन्दर्भमा विश्वव्यापी रूपमा पहुँचयुक्त वातावरण निर्माणमा जोड दिएको छ । मानव अधिकार परिषद्का लागि चीनका स्थायी प्रतिनिधि जिया गाइडले प्रश्ताव पेश गर्दै पहुँचयोग्य वातावरणले सबै वर्गका मानिसलाई समान र सहज रूपमा सामाजिक जीवनमा सहभागी हुन मद्दत गर्ने बताउनु भयो । 

    २३. सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित

    सुडानको उत्तरी दारफुर राज्यस्थित टाविलामा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी मानिस विस्थापित भएर भित्रिएसँगै त्यहाँको मानवीय अवस्था चरम संकटमा पुगेको छ । द्वन्द्व, खाद्यान्न अभाव र खडेरीका कारण विस्थापित भएका सर्वसाधारणहरू सुरक्षित आश्रयको खोजीमा टाविला पुगे पनि आधारभूत आवश्यकताको चरम अभाव झेलिरहेका छन् । उत्तरी दारफुरको टाविला सहर हाल सुडानको सबैभन्दा ठूलो विस्थापित केन्द्रमध्ये एक बनेको छ । 

    २४. कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका तिवारीले भने– ‘विशेष महाधिवेशनपछि पनि काँग्रेस रुपान्तरण हुन सकेको छैन’

    नेपाली काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि भनिएअनुसारको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अब रुपान्तरणको पनि रुपान्तरण आवश्यक रहेको बताउनु भयो । काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिनुभएका कांग्रेस विशेष महाधिवेशनपछि पनि ‘रनवेमा अड्किएको’ टिप्पणी गर्नुभयो । पूर्ण महाधिवेशनपछि पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उहाँको भनाई छ । 

    २५. कांग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आउो्जना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । 

    २६. क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्छः सभापति अमरसिंह पुन

    नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशिल सदस्यहरुले नै पार्टी सभापति प्रत्यक्ष रुपमा छान्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहुनुभएका उहाँले पार्टीको वर्तमान विधानले आन्तरिक प्रतिष्पर्धालाई अस्वस्थ बनाएको दाबी गर्नुभयो ।

    २७. गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

    नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको हो । उहाँले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताउनु भयो । 

    २८. प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

    नेपाल प्रहरीले दशँैतिहार र छठ पर्व लक्षित चाडपर्व सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । चाडवर्पमा पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले बुधवारदेखि छठ पर्वको भोलिपल्टसम्म लागू हुनेगरी सुरक्षा योजना सञ्चालनमा ल्याएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले ५० हजारभन्दा बढी प्रहरी परिचालन गरी देशभर सुरक्षा व्यवस्था कडा बनाउन लागिएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरीले चोरी, डकैती, जुवातास, सट्टेबाजी, सीमा अपराध, तस्करी, कालोबजारी, डिजिटल ठगी तथा सवारी दुर्घटना न्युनिकरणलाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

    २९. भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म काँंग्रेसमा रूपान्तरण हुन सक्दैनः डिला संग्रौला पन्त

    नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले कांग्रेसको रुपान्तरणको लागि संगठनमा लामो समयदेखि काम गरेका कार्यकर्ताको मूल्यांकन हुनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भुइँ तहमा काम गर्ने कार्यकर्ताको योगदानको मूल्यांकन नभएसम्म पार्टी रूपान्तरण सम्भव नहुने बताउनुभएको हो । उहाँले भुँई तहको कार्यकर्ताको योगदानको मूल्यांकन, शिक्षा सुधार, युवा नेतृत्वको विकास, संगठन सुदृढीकरण, पार्टी रूपान्तरण, सुशासन र महिला सशक्तीकरणलाई प्रमुख एजेण्डा बनाएर महामन्त्री पदमा उम्मेद्वारी दिएको बताउनुभयो । 

    ३०. संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

    नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन युवाहरू एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले युवाहरु आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताउनु भयो । पार्टी, संविधान र व्यवस्थाको संरक्षणका लागि काँग्रेस एकढिक्का हुनुको विकल्प नरहेको उहाँको भनाई छ । वर्तमान सरकारले संविधान र व्यवस्थालाई उल्टाउन सक्ने उहाँको आरोप छ ।

    ३१. काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनु हुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे

    नेपाली काँगेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीलाई सरकारमा सहभागि मात्र हुने वा मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने भन्ने विषयमा प्राथमिकता छुट्याउनुपर्ने बताउनुभएको छ । काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस सरकार बनाउने पार्टी मात्र नभई मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्ति बनाउने कोणबाट बहस गर्नुपर्ने समेत बताउनु भयो ।

    ३२. काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा

    नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दु) राष्ट्रका रूपमा पुनःपरिभाषित गर्ने एजेण्डा पार्टीले बोक्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ । 
    काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रश्ताव अघि सार्नुभएको हो । सभापति शर्माले बहुसंख्यक नेपालीको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनाको कदर गर्दै नेपालको मौलिक पहिचान र राष्ट्रिय एकता बलियो बनाउन नेपाललाई हिन्दु राष्ट्र बनाउनुको विकल्प नरहेको बताउनु भयो ।

    ३३. पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति आफूहरूलाई खट्किएको बताउनुभएको छ । बुधवार खुलामञ्चमा महाधिवेशनको बन्दसत्र समारोहलाई समापन गर्दै सभापति थापाले पूर्वसभापति देउवा अनुपस्थित हुँदा आफूहरुलाई  नमिठो लागेको बताउनुभएको हो । 

    ३४. मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । 
    बुधवार धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्ता निर्देशन दिनुभएको हो । उहाँले शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययनमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयहरु पढ्ने र पढाउने कार्यमा मात्र सिमिति हुन नहुने पनि बताउनु भयो । 

    ३५. लोकतान्त्रिक संस्कार जोगाउने र युगानुकूल रूपान्तरण गर्ने मुख्य अभिभारा काँग्रेसको काँधमाः उपसभापति शर्मा

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक संस्कृतिमा क्षय हुँदै गएको भन्दै यसलाई सुधार गर्ने अभिभारा नेपाली काँग्रेससँग रहेको बताउनुभएको छ । काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपसभापति शर्माको लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरणसम्बन्धीको प्रतिवेदन समेत बन्दसत्रले पारित गरेको छ । उहाँले नेपाली काँग्रेसमा गुनासो र निराशाभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशाको राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

    ३६. ३० अर्ब रूपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रिय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो ।  यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।

    ३७. पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत

    सरकारले जथाभावी रुपमा विद्युत खरिद सम्झौता (पीपीए) नगर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जथाभावी रुपमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दै गए देशको अर्थतन्त्रमा संकट आउन सक्ने भएकाले आवेगमा नगरिने बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले उत्पादन हुने विद्युत खपत गर्ने पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भन्दै जथाभावी पीपीए गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो ।

    ३८. विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई जोड्न बाटो खुलाउँदै सरकार

    सरकारले विमानस्थल निर्माणदेखि स्तरोन्नति, व्यवस्थापन र सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउन कानुनी बाटो खोल्ने तयारी गरेको छ । संघीय संसद्मा पेस भएको ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ले विमानस्थल पूर्वाधारमा स्वदेशी तथा विदेशी निजी पूँजी परिचालन गर्नसक्ने व्यवस्था प्रस्ताव गरेको हो । विमानस्थलजस्तो ठूलो पूर्वाधार निर्माणमा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएपछि सरकारले कानून बनाएर स्वदेशी तथा विदेशी लगानी परिचालनको कानूनी आधार तयार गर्न खोजेको छ ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - २०:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij