२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन ‘ऐतिहासिक’ बनेको र विश्वकै ध्यान आकर्षित गर्न सफल भएको परराष्ट्रमन्त्री शिशिर खनालले दाबी गरेका छन् ।
न्यूयोर्कबाट स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको सम्बोधनबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक छवि नयाँ उचाइमा पुगेको समेत बताए ।
नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनपछि बनेको सरकार र त्यसको नेतृत्व गरिरहेका युवा प्रधानमन्त्रीले विश्व मञ्चमा आफू र आफ्नो देशलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायमा सुरुदेखि नै गहिरो चासो रहेको परराष्ट्रमन्त्रीले उल्लेख गरे ।
‘एउटा ठूलो राजनीतिक परिवर्तनपछि देशको नेतृत्व सम्हाल्नुभएका युवा प्रधानमन्त्रीप्रति नेपालभित्र र बाहिर निकै ठूलो कौतूहल थियो । उहाँले विश्व मञ्चमा आफू र मुलुकलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने प्रतीक्षा थियो,’ मन्त्री खनालले भने, ‘सम्बोधनपछि भने संसारभरका प्रमुख समाचार माध्यमहरूमा उहाँको मन्तव्य प्रमुख हेडलाइन बन्यो ।’
संयुक्त राष्ट्रसङ्घको यस वर्षको महासभाका सम्बोधनहरूमध्ये प्रधानमन्त्री बालेन शाहको भिडियो विश्वभर नै सबैभन्दा धेरै हेरिएको (मोस्ट भ्युड) रेकर्ड बनाउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहको सम्बोधन केवल औपचारिकतामा सीमित नरहेर नेपालको वास्तविक पीडा र राष्ट्रिय हितलाई स्थापित गर्न केन्द्रित रहेको उनको भनाइ थियो । हालै भोटेकोसीमा आएको भीषण बाढीलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले विश्व मञ्चमा जलवायु सङ्कटको भयावह यथार्थ प्रस्तुत गरेको उनले बताए ।
महासभाका क्रममा भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरूमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री शाहको सम्बोधनको उच्च प्रशंसा गरेको परराष्ट्रमन्त्रीले जानकारी दिए ।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीज्यूको सम्बोधनपछि मसँग भएका दर्जनौँ भेटवार्तामा विदेशी नेता तथा कूटनीतिज्ञहरूले उहाँको विचारको खुलेर प्रशंसा गर्नुभयो । उहाँले उठाउनुभएका मुद्दाप्रति अन्तर्राष्ट्रिय समुदायले पूर्ण ऐक्यबद्धता जनाएको छ । विश्वकै कान्छो सरकार प्रमुखका रूपमा उहाँले देखाउनुभएको कूटनीतिक परिपक्वताले नेपालको प्रस्ताव र अडानप्रति विश्व समुदायलाई सकारात्मक बनाएको छ ।’
प्रधानमन्त्रीको उक्त ऐतिहासिक प्रस्तुतिले आगामी दिनमा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिलाई थप सबल र प्रभावकारी बनाउन बलियो जग तयार पारेको परराष्ट्रमन्त्रीको निष्कर्ष छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij