२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल बुधबार बिहान चुँडिएको छ। पुलको पिल्लर भत्किएपछि पुलको एक भाग महाकाली नदीमा लत्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहान पुलको दोधारा तर्फ करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसलगत्तै पुलको पिल्लरसमेत भत्किएर पुल भाँचिएको हो।
पुल चुँडिएपछि अहिले उक्त झोलुङ्गे पुलबाट हुने आवतजावत पूर्ण रूपमा बन्द भएको छ। यो पुलले दोधारा–चाँदनी क्षेत्रलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसँग जोड्दै आएको थियो।
महाकाली नदीमा पक्की पुल निर्माण भइसकेकाले पछिल्लो समय स्थानीयले झोलुङ्गे पुलभन्दा पक्की पुलबाटै बढी आवतजावत गर्दै आएका थिए। वर्षौँअघि निर्माण गरिएको झोलुङ्गे पुल भने लामो समयदेखि जीर्ण अवस्थामा रहेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij