२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१, लीलाचोक नदी किनारका बस्ती प्रभावित भएका छन् । सोमबार नदीको जलसतह साढे चार मिटर घटे पनि घरभित्र पसेको बालुवा र लेदो सफा गर्न स्थानीयलाई सास्ती भइरहेको छ ।
घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाटरदराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र आफन्तकहाँ शरण लिन बाध्य पीडितहरू बिहानैदेखि बालबालिकालाई सम्हाल्दै घर सफा गर्न जुटिरहेका छन् ।
बाढी घटेपनि स्थानीय तह वा सरकारी निकायबाट सोधखोज र उद्धारका लागि कोही नपुगेको पीडितहरूको गुनासो छ ।
भरतपुर-१ नारायणी किनारमै रहेको राष्ट्रिय आधारभूत विद्यालय पनि बाढी र हिलोले पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । कक्षाकोठाभित्र रहेका टेबल र कुर्सी हिलाम्मे भएका छन् ।
स्थानीय युवा अञ्जित सापकोटाका अनुसार यो विद्यालय अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा छ । हरेक एक(दुई वर्षमा विद्यालयमा बाढी छिर्ने र नारायणी किनारमा लाग्ने मेला-महोत्सवको हल्लाले वर्षमा ३ देखि ४ पटकसम्म १०-१० दिन पठनपाठन ठप्प हुने गरेको उनले सुनाए ।
विद्यालयमा करिब ८५ देखि १२० जना बालबालिका अध्ययनरत रहेको बताउँदै सापकोटाले भने, ‘सधैँभरि बाढीको झन्झट सहनुभन्दा महानगरपालिका र प्रशासनले यो विद्यालयलाई अन्यत्र सुरक्षित स्थानमा मर्ज गरिदिनुपर्छ ।’
सरकारी निकाय वा जनप्रतिनिधिहरू सहायताका लागि नपुगेपछि अहिले स्थानीय युवाहरू, विधार्थीहरू नै स्वतःस्फूर्त रूपमा संगठित भई विद्यालय तथा छिमेकीका घरहरूमा जमेको लेदो र बालुवा हटाउने सरसफाइ अभियानमा खटिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij