२०८३ आश्विन १३ गते मंगलवार
१. विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्यः उपकुलपति डा. थापा
त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।
ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनको तालमेल आजको आवश्यकता भएको बताउनुभएको हो ।
२. मझुवा सामुदायिक वनमा आसपासका बस्तीमा बाढीको उच्च जोखिमः दीर्घकालीन तटवन्धनको माग
असोज १० र ११ गते आएको भीषण बाढीका कारण मझुवा सामुदायिक वन आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन् । बस्तीभित्रै बाढी पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सरोकारवाला निकायले बर्खाको समयमा मात्र हतारमा गरिने कामले समस्या समाधान नहुने भन्दै तत्काल दीर्घकालीन तटबन्धन गुरुयोजनाको माग गरेका हुन् । मझुवा सामुदायिक वनका अध्यक्ष भरतराज पौडेलले लामो समयदेखि स्थानीय बासिन्दाले बर्खाको समयमा त्रासमा बाँच्नुपरेको दुःखेसो गर्नुभयो । स्थानीय बासिन्दा र सरोकारवालाहरूको गुनासो विशेषगरी सरकारको बजेट विनियोजन र काम गर्ने शैलीमा केन्द्रित छ । अध्यक्ष पौडेलकाअनुसार, बर्खा लागेपछि मात्र बजेट निकासा हुने र काम थाल्ने परिपाटीले गर्दा कुनै पनि संरचना दिगो हुन सकेको छैन ।
३. प्रशासकको दृष्टिकोण र सेवा प्रवाहले नै राज्यको चरित्र निर्धारण गर्छः उपाध्यक्ष डा. भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्रशासकहरूले प्राप्त गर्ने ज्ञान, विवेक, आचरण र सेवा प्रवाहको शैलीले नै दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति र अनुहार प्रतिविम्बित गर्ने बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक दक्षता विना राज्यले दिगो आर्थिक वृद्धि र प्रभावकारी सेवा प्रवाह हासिल गर्न नसक्ने स्पष्ट पार्नुभएको हो ।
४. पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम
पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा परिणत हुने गर्दछ, जसले गर्दा सुन्दर हिमालको दृश्यसँगै स्थानीय बासिन्दाले डुबानको सास्ती भोग्दै आएका छन् । पोखराको बीचमा रहेको रामघाट क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर र आकर्षक छ । विशेषगरी सफा मौसममा यहाँबाट देखिने हिमश्रृंखलाको दृश्यले पर्यटक र स्थानीय दुवैलाई लोभ्याउने गर्दछ । तर यही क्षेत्र वर्षेनी बाढीको कारण जलमग्न हुनु यहाँको पुरानो समस्या बनेको छ ।
५. पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी
अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट (डोजर तथा एक्साभेटर) परिचालन गरिएको छ । विपद् व्यवस्थापन टोली तथा सडक डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुङ्गा–माटो पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्न युद्धस्तरमा कार्य भइरहेको हो । लगातारको भारी वर्षाले गर्दा देशका विभिन्न भू–भागसँगै सङ्घीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग नराम्ररी प्रभावित भएको छ ।
६. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाइने
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले कलेजलाई स्टाफ कलेजलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४ औँ स्थापना दिवसमा आईतवार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलेजलाई नेतृत्व विकास केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो ।
७. नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै
लगातारको भारी वर्षाका कारण नारायणी नदीमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ । बिहान ८ः५६ बजे लिइएको मापनअनुसार नदीको बहाव ११.०६ मिटर पुगेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पस्न थालेको हो । बस्ती जोखिममा परेपछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन् । चितवन तथा आसपासका जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढीको सतह तिब्र गतिमा बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार नारायणी नदीमा सामान्यतया ९ मिटरलाई खतराको तह मानिन्छ । तर आज बिहानको मापनमै जलसतहले ११.०६ मिटरको आँकडा पार गरिसकेको छ, जुन सामान्य विन्दुभन्दा निकै माथि हो ।
८. कान्ति लोकपथ अवरुद्धः छपेलीमा पुनः ठूलो पहिरो खस्दा यातायात ठप्प
काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्गका रूपमा रहेको कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । ललितपुरको वागमती गाउँपालिका–३ स्थित छपेली क्षेत्रमा खसेको ठूलो पहिरोले सडक यातायात पूर्ण रूपमा ठप्प पारेको हो । कान्ति लोकपथको ६१+४०० देखि ६३+००० किलोमिटर (चेनेज) खण्डमा पर्ने छपेली क्षेत्रमा शुक्रवार बिहान पहिरो खसेको थियो । सडक डिभिजन कार्यालयले पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी गरिरहेको समयमा पुनः ठूलो परिमाणमा पहिरो खसेपछि उद्धार कार्य प्रभावित बनेको छ ।
९.आजबाट शुरु भयो पितृपक्षः देशभरका तीर्थस्थलमा तर्पण र पिण्डदान गर्नेको बाक्लो उपस्थिति
आजबाट पितृ पक्ष अर्थात सोह्र श्राद्ध शुरु भएको छ । हिन्दु पञ्चांगअनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट शुरु हुने सोह्रश्राद्धको आज पहिलो दिन हो । काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार र तीर्थस्थलहरूमा आफ्ना दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ ।
१०. अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशुसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जलसतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपद्को जोखिम उच्च बनेको छ ।
११. इण्डोनेसियामा डुबेको फेरी दुर्घटनाः मृतक संख्या ६४ पुग्यो, अझै ७१ जना बेपत्ता
इण्डोनेसियाको जाभा सागरमा करिव दुई साताअघि दुर्घटनाग्रस्त भएको फेरीका कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ७१ जना यात्रु हराइरहेका छन् । इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारी युधि ब्रामान्ट्योले शनिवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुर्घटनामा परेका कुल २४३ यात्रुमध्ये हालसम्म १७२ जनाको अवस्था यकिन भएको छ ।
१२. एथेन्सको ऐतिहासिक क्षेत्रमा भीषण विस्फोटः भवन भत्किँदा ६ जनाको मृत्यु, ३ घाइते
ग्रिसको राजधानी एथेन्सस्थित ऐतिहासिक एक्रोपोलिस नजिकै एक दुईतले भवनमा भएको शक्तिशाली विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भग्नावशेषबाट शनिवार ६ जनाको शव निकालिएको ग्रिसको सरकारी प्रशारण संस्था ईआरटीले पुष्टि गरेको छ । स्थानीय समयअनुसार शुक्रवार बिहान करिव ७ः३० बजे एथेन्सको ऐतिहासिक प्लाका जिल्लास्थित लिसिक्राटस स्ट्रिटमा रहेको दुईतले भवनमा भीषण विस्फोट भएको थियो । विस्फोटको तिब्रताका कारण भवनको ठूलो भाग पूर्ण रूपमा भत्किएको थियो ।
१३. चीनको यिबिनमा भूकम्पः ४.५ म्याग्निच्युडको धक्का महशुस
चीनको सिचुआन प्रान्तस्थित यिबिन सहरको गाओसियन काउन्टी क्षेत्रमा शनिवार भूकम्पको धक्का महशुस गरिएको छ । स्थानीय समयअनुसार दिनभरि गएका भूकम्पका श्रृङ्खलामध्ये सबैभन्दा ठूलो ४.५ म्याग्निच्युडको रेकर्ड गरिएको छ । चीनको भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार शनिवार गाओसियन काउन्टीलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्पका धक्काहरू गएका थिए। ४.५ म्याग्निच्युडको भूकम्पले स्थानीय बासिन्दाहरूमा त्रास फैलाए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा गम्भीर संरचनात्मक नोक्शानीको खबर प्राप्त भएको छैन । भूकम्प गएलगत्तै स्थानीय प्रशासनले उद्धार र क्षतिको आँकलनका लागि विशेष टोली परिचालन गरेको थियो । हालसम्म प्राप्त प्रारम्भिक विवरणहरूका आधारमा उक्त क्षेत्रका आवासीय भवन वा सार्वजनिक संरचनामा कुनै क्षति नपुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१४. थाइल्याण्डमा विपद्को संकटः बैंककका ५० वटै जिल्ला ‘बाढी प्रभावित क्षेत्र’ घोषित
थाइल्याण्डको राजधानी बैंककका सबै ५० वटै जिल्लालाई बाढी प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सहरको विपद् रोकथाम तथा न्युनिकरण कमाण्डले जारी गरेको औपचारिक विज्ञप्तिअनुसार बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेसँगै राजधानी पूर्ण रूपमा उच्च जोखिममा परेको पुष्टि भएको हो । थाइल्याण्डको मौसम विज्ञान विभागकाअनुसार पछिल्लो केही दिनयता जारी रहेको भीषण वर्षा न्युन चापीय प्रणाली र मनसुनी रेखाको प्रभावका कारण उत्पन्न भएको हो । यसले गर्दा राजधानी बैंकक मात्र नभई देशका उत्तरी, उत्तरपूर्वी, मध्य, पूर्वी र दक्षिणी भेगमा समेत बाढीको खतरा बढेको छ ।
१५. पाकिस्तान–अफगानिस्तान सीमामा भिडन्तः घुसपैठको प्रयास विफल, केही तालिबान लडाकु मारिएको दाबी
पाकिस्तान र अफगानिस्तानबीचको सीमावर्ती क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तमा केही अफगान तालिबान सदस्यहरू मारिएको पाकिस्तानी सुरक्षा स्रोतले जनाएको छ । बलुचिस्तानको गुलिस्तान सेक्टर नजिकै अफगान पक्षबाट गैरकानुनी रूपमा सीमा पार गर्ने प्रयासलाई सुरक्षा फौजले जवाफी कारबाहीमार्फत विफल तुल्याएको दाबी पाकिस्तानले गरेको छ । पाकिस्तानी सुरक्षा स्रोतहरूकाअनुसार शुक्रवार बिहान सबेरै गुलिस्तान सेक्टरस्थित सीमा रेखाबाट केही अफगान तालिबान सदस्यहरू पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए । उक्त गतिविधि देखिनासाथ सीमामा तैनाथ पाकिस्तानी सुरक्षाकर्मीले तत्काल कारबाही अघि बढाएका थिए ।
१६. पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरी चौकी लक्षित बम विष्फोटः ११ जनाको मृत्यु
पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी जाँच चौकीलाई लक्षित गरी गराइएको भीषण बम विष्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिवार दिउँसो २ः२० बजे डेरा इस्माइल खान जिल्लामा उक्त घटना भएको हो । प्रहरी र उद्धारकर्ताहरूले दिएको जानकारीअनुसार विष्फोटको समयमा नजिकै एक शान्ति भेला भइरहेको थियो, जसमा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। उक्त हमलाले मुख्य रूपमा प्रहरी जाँच चौकीलाई निशाना बनाएको थियो, जसका कारण सुरक्षाकर्मी र सर्वसाधारण दुवै हताहत भएका छन् ।
१७. मलेशिया एयरलाइन्सको चिनियाँ बजारमा आक्रामक विस्तारः तीन ठूला प्रविधि कम्पनीसँग साझेदारी
मलेशिया एयरलाइन्सले आफ्नो चिनियाँ बजार पहुँच र सेवा विस्तार गर्ने उद्देश्यले चीनका तीन प्रमुख प्रविधि कम्पनीहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । डिजिटल प्लेटफर्म र ग्राहक संलग्नतालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित गरिएको यो साझेदारीले चिनियाँ यात्रुका लागि यात्रा योजना र बुकिङ प्रक्रियालाई थप सहज बनाउने कम्पनीले जनाएको छ । बिहीवार सार्वजनिक विज्ञप्तिअनुसार मलेशिया एयरलाइन्सले चीनमा आफ्नो बलियो उपस्थिति देखाउन डिजिटल इकोसिस्टमको प्रयोगलाई प्राथमिकता दिएको छ । यस साझेदारीले यात्रुहरूलाई विमानस्थलको यात्राभन्दा बाहिर डिजिटल माध्यमबाटै सूचना र सेवामा पहुँच पु¥याउनेछ ।
१८. होर्मुज जलडमरूमध्य खुला गर्नेसम्बन्धी इरानको शर्तसहितको प्रश्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकृत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक तथा अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले संवेदनशील मानिने होर्मुज जलडमरूमध्य पुनः खुला गर्नेसम्बन्धी इरानको शर्तसहितको प्रश्तावलाई औपचारिक रूपमा अस्वीकार गर्नुभएको छ । तेहरानले मध्यस्थकर्ता कतारमार्फत पठाएको सात दिने समयसीमासहितको उक्त सम्झौता प्रस्ताव वर्तमान अवस्थामा आफूहरूलाई स्वीकार्य नहुने ट्रम्पले शनिबार स्पष्ट पार्नुभएको हो । राष्ट्रपति ट्रम्पले शनिबार पत्रकारहरूसँग कुरा गर्दै इरानले सम्झौता गर्न चाहे पनि उसको तर्फबाट आएका सर्तहरू अमेरिकाका लागि अनुकूल नरहेको बताउनु भयो ।
१९. होर्मुज जलमार्ग ७ दिनभित्र खुलाउन सकिन्छः इरानले अमेरिकालाई दिएको यो ठोस प्रश्ताव
इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले आवश्यक शर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउन सकिने भन्दै संयुक्त राज्य अमेरिकालाई ठोस कार्ययोजना हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अराक्चीले सो प्रस्ताव कतारमार्फत अमेरिकालाई पठाइएको स्पष्ट पार्नुभएको हो । विदेशमन्त्री अराक्चीकाअनुसार इरानले तयार पारेको सात दिने योजनाअनुसार अमेरिकाले केही प्राविधिक र कूटनीतिक कदम चाल्नुपर्ने हुन्छ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
२०. बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता
लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो । असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जाकारी दिनुभयो । उहाँकाअनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उहाँले जानकारी दिनुभयो ।
२१. रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो । शान्ति सेवा गृहका उत्तम निरौलाले बाढीका कारण घर तथा थाँतथलो छाडेर काठमाडौंमा बस्न बाध्य भएका परिवारको स्वास्थ्य अवस्था पहिचान गर्न शिविर सञ्चालन गरेको बताउनु भयो । उहाँकाअनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै स्त्रीरोग, बालरोग, आँखा, दाँत तथा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ ।
२२. लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्लामा अति उच्च जोखिम
लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आईतवार देशभरका नदी तथा खोलाहरुमा बाढीको जोमिख रहेको जनाएको हो । महाशाखाकाअनुसार गण्डकी प्रदेशका केही जिल्लामा बाढीको जोखिम अति उच्च रहेको छ । महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी, कालीगण्डकीलगायत नदीमा पानीको सतह उल्लेख्य बढेको छ । ती क्षेत्रमा बाढीको जोखिम उच्च रहेको उहाँले बताउनु भयो ।
२३. वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन नरहने भएकोले शर्तकताए अपनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार हाल मुख्य जोखिम नदीको बहाव बढेर हुने कटान र पहिरो हो । लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाई छ । उहाँकाअनुसार हाल बाढी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक खुलाउन सडक विभागले २५० भन्दा बढी उपकरणलाई विभिन्न स्थानमा प्रि–पोजिसनिङ गरी तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । वर्षा कम हुँदै गएपछि सडक खुलाउने कामलाई तिब्रता दिने उहाँको भनाई छ । कतिपय स्थानमा भने सडक सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभयो ।
२४. ‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’
वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ । आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताउनुभएको हो । उहाँले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गर्नुभयो ।
२५. त्रिशूली–३ ‘ए’ सुरुङमा १० दिनको संघर्षः मृत्युलाई जितेर फर्किंदा कवीरको अनुभव
भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवास्थित माथिलो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मृत्युलाई नजिकबाट देखेर १० दिनपछि सकुशल उद्धार गरिएका महर्जनले आफ्नो जीवनको कठिनतम समयको अनुभव बाँड्दै सुरुङभित्रको त्यो भयानक संघर्षबारे सुनाउनु भयो । भदौ १० गते बिहानको समयमा आयोजनाको कन्ट्रोल रुममा काम गरिरहँदा महर्जन र उहाँका सहकर्मी सञ्जय साह अचानक आएको बाढीको चपेटामा पर्नुभएको थियो । सीसीटीभी फुटेजमा बाढीको संकेत देखेपछि हात समातेर बाहिर निस्कने उहाँहरुको प्रयास पानीको तिब्र बहावका कारण विफल भयो र दुवै जना सुरुङभित्र अलग–अलग स्थानमा फस्नुभयो ।
२६. पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारः प्रदेश सचिव सुवेदी
वागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
२७. भोटेकोशी–त्रिशूली बाढीः वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति
भदौ १० गतेको रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट वागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य शहदेव धमलाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार बाढीका कारण प्रदेशमा १ सय ४२ भन्दा बढी पर्यटकस्तरीय तथा साना–मझौला होटल र ६५ भन्दा बढी रेस्टुरेण्टमा क्षति पुगेको छ । उहाँले बाढमिा परी पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नुपरेको बताउनु भयो ।
२८. विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल
जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड दिनुभयो । जलयायु विज्ञ दाहालले उहाँले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनोट गरी ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
२९. अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले
गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा आज सुधार आएको छ । झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् । काठमाडौं उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो । अविरल वर्षाले चिसो बढाउनुका साथै आवतजावतमा समेत समस्या खडा गरेको थियो । यद्यपि आज दिउँसोबाट बादल फाट्न थालेपछि र घाम लाग्न थालेपछि मौसममा उल्लेख्य सुधार देखिएको छ ।
३०. नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने
नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने उद्देश्यले ‘गौरवता नेपाल’ परियोजना सञ्चालन हुने भएको छ । नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पु¥याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले उक्त परियोजना सञ्चालन गर्ने भएको हो । आईतवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो । पत्रकार सम्मलेनमा बोल्दै एलजे ग्रुपका अध्यक्ष फिरोज सिंहले नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले उक्त परियोजनाको सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij