२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ । प्रसारण लाइनमा फाल्ट आउनुका साथै विद्युत् उत्पादन केन्द्र र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौंलगायत क्षेत्रमा विद्युत् प्रणालीमा अवरोध देखिएको छ । विभिन्न समय र स्थानमा लाइन, उत्पादन तथा लोडमा आएको अवरोध जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ । यो एकै समयमा भएको विद्युत् अवरोध भने होइन ।
सबैभन्दा बढी असर पोखरा क्षेत्रमा परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट प्रभावित भएको छ । रौघाट–दाना लाइनमा आएको अवरोधबाट थप करिब १५५ मेगावाट प्रभावित भएको मन्त्रालयले जनाएको छ । बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्तिमा समेत असर परेको छ ।
बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । चापर–पथलैया १३२ केभी लाइनमा समस्या आएपछि कावासोती सबस्टेसनमा लोड कटौती गरिएको थियो । हेटौंडा क्षेत्रमा माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ भने भारतपुर सबस्टेसनमा उपकरणमा समस्या आएपछि आपूर्तिमा असर परेको छ ।
काठमाडौं उपत्यकाको पाटन र टेकु क्षेत्रमा पनि छोटो समय विद्युत् अवरोध भएको थियो । पाटन सबस्टेसनमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकैपटक ओभरलोड भएपछि समस्या देखिएको बताइएको छ ।
बाढीपहिरोका कारण विभिन्न सबस्टेसनमा लोड कटौतीसमेत गरिएको छ । प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्थाबारे मूल्याङ्कन गर्दै आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरी विद्युत् आपूर्ति क्रमशः पुनःस्थापना गर्ने काम भइरहेको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रभावित क्षेत्रमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सञ्चालन गरिएको छ । सडक तथा पहुँचमार्ग अवरुद्ध भएकाले कतिपय क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उनले बताए ।
प्राधिकरणले विद्युत् संरचनामा क्षति पुगेका स्थानमा ढलेका तार, पोल तथा अन्य संरचना नजिक नजान उपभोक्तालाई आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij