२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि कञ्चनपुरमा सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखेर सतर्कता बढाइएको छ।
कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाका केही स्थानमा वर्षा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव करिब ३४ हजार क्युसेक रहेको छ।
जोगबुडा नदीको पानीको सतह बढेर बस्तीमा पस्न सक्ने जोखिम देखिएपछि दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई नजिकैको वडा कार्यालय र जमुनाघाडी विद्यालयमा स्थानान्तरण गरिएको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा परिवारका सदस्यसँगै खाद्यान्न तथा पशुचौपायासमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ।
जोगबुडा नदीको जोखिममा रहेको पटराखल्ला बस्तीमा विगतमा पनि नदीको बहाव बढ्दा डुबान हुने गरेको छ। आगामी दिनमा वर्षा थप बढ्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय तथा होचा भू–भागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij