२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) सेवाग्राहीकै ठेगानामा डेलिभरी गर्ने व्यवस्था सुरु गरेको छ। अब राहदानी लिनकै लागि महावाणिज्यदूतावास पुग्नुपर्ने बाध्यता हटेको छ।
महावाणिज्यदूतावासले शुक्रबार जारी गरेको सूचनाअनुसार सेवाग्राहीको अनुरोध र कार्यालयसम्म आउँदा लाग्ने समय, बिदा तथा यात्रा खर्चलाई ध्यानमा राख्दै इमिरेट्स पोष्टमार्फत राहदानी डेलिभरीको व्यवस्था गरिएको हो।
यस सेवाअन्तर्गत राहदानीका लागि आवेदन दिने सेवाग्राहीले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ। राहदानी तयार भएर महावाणिज्यदूतावासमा आएपछि डेलिभरीका लागि इमिरेट्स पोष्टलाई हस्तान्तरण गरिनेछ।
राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्कबापत १५ दिराम र भ्याटसहित कुल १५.७५ दिराम बुझाउनुपर्नेछ।
महावाणिज्यदूतावासले यो सेवा स्वैच्छिक रहेको स्पष्ट पारेको छ। घरमै राहदानी आवश्यक पर्ने सेवाग्राहीले मात्रै उक्त सेवा लिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij