२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । काभ्रेको रोशीखोलामा बाढीको सतह खतराको तह पार गरेको छ। बाढीको खतराको तह ४.५ मिटर निर्धारण गरिएकोमा शुक्रबार पानीको सतह बढेर ४.५१ मिटर पुगेको हो। समाचार तयार पार्दासम्म पानीको सतह स्थिर रहे पनि बाढी पूर्वानुमान शाखाले खतराको संकेतस्वरूप साइरन बजाएको जनाएको छ।
नुवाकोटको त्रिशूली खोला र भक्तपुरको हनुमन्ते खोलामा पनि बाढी आएको छ। दुवै नदीमा पानीको सतह चेतावनी तहसम्म पुगेको शाखाले जनाएको छ। आगामी पाँच दिन देशका विभिन्न ठूला नदी तथा जलाधार क्षेत्रमा पानीको सतह बढ्ने र केही स्थानमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान शाखाकी हाइड्रोलोजिस्ट इन्जिनियर सरस्वती विष्टका अनुसार आगामी २४ देखि ४८ घण्टामा विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक छ। शुक्रबार बिहानको मापनअनुसार कोशी, नारायणी, कन्काई, कमला र तिनका सहायक नदीमा जलसतह सतर्कता तह आसपास वा सोभन्दा माथि पुगेको छ।
कोशी जलाधारका सप्तकोशी चतरा, तमोर, अरुण, सुनकोशी, तामाकोशी, लिखु लगायतका नदीमा शुक्रबार बहाव बढ्ने तथा केही स्थानमा सतर्कता तह पार गर्न सक्ने अनुमान छ। नारायणी देवघाट, त्रिशूली बेत्रावती, बूढीगण्डकी आरुघाट, मस्र्याङ्दी र सेती दमौली क्षेत्रमा पनि शुक्रबार र शनिबार जलसतह सतर्कता तह आसपास पुग्न सक्ने शाखाले जनाएको छ।
बडीगाड रुद्रबेनी तथा कालीगण्डकी कुमालगाउँमा शुक्रबार र शनिबार उच्च जोखिम रहने पूर्वानुमान छ। यस्तै, कर्णाली चिसापानी, ठूलीभेरी रिम्ना, सेती दिपायल र महाकाली परिगाउँ क्षेत्रमा पनि आगामी दिनमा बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।
कन्काई मैनाचुली, बागमती खोकना लगायतका क्षेत्रमा समेत उच्च जोखिम रहेको जनाइएको छ। शुक्रबारदेखि शनिबार बिहानसम्म मुस्ताङ, मनाङ, कास्की, लमजुङ, गोरखा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij