२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको जानकारी गराएका हुन् ।
लगातारको वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण कान्ति राजमार्ग अन्तर्गत ललितपुर खण्डको यातायात सेवा अवरुद्ध भएको छ। पहिरोका कारण यस राजमार्गको बिर्खेधारा, टार्कुचे र छपेली क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो।
मन्त्री लम्सालका अनुसार सडक माथिबाट आएको पहिरोले गर्दा सो क्षेत्रमा सवारी साधनको आवागमन रोकिएको छ।
‘वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको हो। वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ,’ मन्त्री लम्सालले जानकारी दिएका छन् ।
कान्ति राजमार्ग काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको महत्त्वपूर्ण वैकल्पिक मार्ग हो । हाललाई वर्षा नरोकिँदासम्म यस सडक खण्डमा यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij