२०८३ आश्विन १ गते बिहिवार
१. विपद्मा परेका २८९ पर्यटकको उद्धार, ५९१ जना अझै सम्पर्कविहीनः पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको बताएको छ । ५ सय ९१ जना अझै सम्पर्कविहीन रहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताउनु भयो । उहाँकाअनुसार उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन् । पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्याङ्कअनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १ सय ८० जना भारतीय नागरिक रहेका छन् ।
२. विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पार्नुभयो । मन्त्री पोखरेलकाअनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले तीनै तहका निकायबीच समन्वय गरिरहेको छ ।
३. विपद् व्यवस्थापनमा संघीय सरकारको केन्द्रिकृत नीति वाधकः मुख्य सचेतक थापा
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी मुख्य सचेतक बासना थापाले विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा सोमवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउनुभएको हो । मुख्य सचेतक थापाले प्रभावित क्षेत्रमा महिला र बालबालिकाले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत निकायहरूलाई काम गर्ने सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।
४. विपद् व्यवस्थापन र उद्धारका लागि सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील
सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको बताउनुभएको हो ।
५. विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि पाँचवटा कार्यदल गठन गरिने, कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट सिर्जित समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले तिब्र रूपमा काम अगाडि बढाउने बताउनुभएको छ । सोमवार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उहाँले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल (टास्क फोर्स) गठन गरिने जानकारी दिनुभएको हो ।
६. रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा हाल बेपत्ता भएकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइएको छ । बाढीका कारण विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापन र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सक्रियता देखाएको छ ।
७. रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिब ४ हजार बेपत्ता
भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो । भदौ १५ गते साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार बाढीमा परेर निधन भएका हालसम्म ९ सय ३९ जनाको शव फेला परेको हो । प्राधिकरणकाअनुसार बाढीका कारण सबैभन्दा बढी चितवनमा २ सय ७९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अङ्गहरू मात्र रहेको प्राधिकरणले जनाएको छ ।
८. रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ ।
९.भोटेकोशी बाढी अपडेटः ९०३ को मृत्यु, ४२ सय बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन
भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४ हजार २ सय जना अझै बेपत्ता रहेका छन् । परराष्ट्र मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पछिल्लो अवस्थाबारे जानकारी गराउनुहुँदै खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
१०. बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालनः ११ हजार ३ सय ७९ जनाको जीवितै उद्धार
सरकारले भोटेकोशी बाढीपछिको संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका प्रयासहरूबारे औपचारिक जानकारी गराउनुभएको हो । सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले खोज, उद्धार, उपचार र राहतका लागि सुरक्षा निकाय र प्रशासनिक संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताउनु भयो ।
११. प्राकृतिक विपद्पछिको राहतका लागि वरुण चौधरीद्वारा भारत सरकारलाई धन्यवाद, पुनर्निर्माणमा सहयोगको अपेक्षा
सिजी कर्प ग्लोवलका प्रवन्ध निर्देशक वरुण चौधरीले नेपालमा हालैको प्राकृतिक विपद्का कारण सिर्जित कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत सहयोगका लागि मित्र राष्ट्र भारतप्रति आभार प्रकट गर्नुभएको छ । विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चौधरीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो । संकटको यस घडीमा नेपाललाई पहिलो सहयोग स्वरूप राहत सामग्री उपलब्ध गराएर हौसला बढाएकोमा उहाँले भारत सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । भारतले प्रदर्शन गरेको यस सहयोगले दुई देशबीचको सदियौँ पुरानो र प्रगाढ मित्रतालाई पुनः पुष्टि गरेको चौधरीले बताउनु भयो ।
१२. पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा
पोखरा बस व्यवसायी समिति (पोखरा यातायात कम्पनी प्रा.लि.) ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समितिको हालै सम्पन्न साधारण सभाले देशमा आइपरेको वर्तमान सङ्कटको घडीमा मलम लगाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । पोखरा यातायात व्यवसायी संघका सल्लाहकार, पोखरा महानगरपालिकाका यातायात सहसंयोजक एवं वडा नम्बर १६ का अध्यक्ष अमृत तिमील्सिनाले साधारण सभाले उक्त सहयोगको औपचारिक निर्णय गरेको जानकारी दिनुभयो ।
१३. पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सोमवार सिंहदरवारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो । उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनु भयो । मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको हो ।
१४. पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार
सरकारले बाढीपहिरो लगायतका विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पु¥याएर व्यवस्थापन भइरहेको स्पष्ट पारेको छ । सोमवार सिंहदरबारमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शव व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुभएको हो । उहाँले पहिचान नभएका तथा बेवारिसे शवहरूको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड बमोजिम भइरहेको जानकारी दिनुभयो ।
१५. नेपाली काँग्रेसका सांसदद्वारा आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा, सदन तत्काल खोल्न माग
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संसदीय दलको सोमवार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिनुभएको हो । बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
१६. नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध
नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्शानी कोष’ सँग आपतकालीन कोष तत्काल उपलब्ध गराउन अनुरोध गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाएको हो । भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि सरकारले “विशेष वैठक” बसी “विशेष निर्णय” गरेको हो ।
१७. त्रिशूली–बेत्रावती सडक मर्मत तिब्रः ५०० मिटर सडक खोलाले बगाउँदा नयाँ ट्रयाक खोल्नुपर्ने
रसुवागढी जोड्ने सडकको त्रिशूली–बेत्रावती खण्ड मर्मत कार्यलाई सडक विभागले तिब्रता दिएको छ । सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेकाअनुसार टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम गरिरहेको हो । मर्मतका क्रममा मेसिनहरूले तिर्तिरे भीर पार गरिसकेका छन् र अब बेत्रावती पुग्न करिव ३ किलोमिटर सडक खण्ड बाँकी छ । यद्यपि, बेत्रावती नजिकैको करिव पाँच सय मिटर सडकखण्ड त्रिशूली नदीले पूर्ण रूपमा कटान गरी बगाएकाले मर्मत कार्यमा चुनौती थपिएको छ ।
१८. जनकपुरधाममा हरवा–चरवाको धर्ना एक सातादेखि जारी, पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
हरवा–चरवा अधिकारको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि शुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी छ । हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न माग राख्दै शुरु गरिएको यस धर्नामा मधेसका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ ।
१९. एमालेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । सो अवसरमा एमालेको वागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी जम्मा २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो ।
२०. ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल
रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरुले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । जलवायु अभियन्ताहरूले संयुक्त अपीलमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न निर्णायक कदम चाल्न आग्रह गरेका हुन् । जलवायु क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, विशेषज्ञ र पत्रकारहरू सहभागी जलवायु अभियन्ता समूहले नेपाललाई विपद् पुनर्निर्माणका नाममा ऋण थोपर्ने काम नगर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।
२१. आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
आइसल्याण्डमा शनिवार सम्पन्न जनमत संग्रहमा त्यहाँका बहुसंख्यक नागरिकहरूले युरोपेली संघ (ईयु) को सदस्यता प्राप्तिका लागि गरिने वार्तालाई पुनः अगाडि नबढाउने पक्षमा मतदान गरेका छन् । आइसल्याण्डको सार्वजनिक प्रशारण संस्था आरयुभीले आईतवार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ५२.८ प्रतिशत मतदाताले वार्ताको विपक्षमा र ४७.२ प्रतिशतले वार्ताको पक्षमा मतदान गरेका छन् ।
२२. केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तिब्रः १.१ किलोमिटरको दूरीसम्मको सडक सफा
नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तिब्र पारेका छन् । गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा ल्याउन उद्धार टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन् ।
२३. चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा
दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् । यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपरमार्केटहरूबाट संकलन गरिएका खाद्य सामग्रीहरू राखिने गरिन्छ । लकरमा राखिने सबै सामग्रीहरूले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ ।
२४. डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले व्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आईतवार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आईतवार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो । प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न शुरु गरेको थियो ।
२५. दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले आईतवार मन्त्रिपरिषद्का ६ महत्वपूर्ण पद र राष्ट्रपतीय कार्यालयका उच्च अधिकारीहरूको मनोनयन गर्नुभएको छ । राष्ट्रपतीय कार्यालय ‘ब्लु हाउस’का अनुसार आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री र रक्षा मन्त्रीसहित विभिन्न मन्त्रालयका लागि नयाँ उम्मेदवारहरू छनोट गरिएको हो । राष्ट्रपतिका मुख्य सचिव काङ हुन–सिकले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रपति लीले अर्थ मन्त्रालयका प्रथम उपमन्त्री ली ह्युङ–इललाई उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीमा मनोनीत गर्नुभएको छ ।
२६. लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता
लस एन्जलसको पूर्वी क्षेत्रस्थित पोमोना फेयरप्लेक्समा आयोजित वार्षिक ‘बबल रन’मा १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् । रङ्गीचङ्गी साबुनका फिँज (बबल) र पारिवारिक मनोरञ्जनका साथ आयोजना गरिएको यस दौडमा सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए । बबल रन एक पारिवारिक र गैर–प्रतिष्पर्धात्मक ५ किलोमिटरको दौड प्रतियोगिता हो । यसमा सहभागीहरू रङ्गीचङ्गी फिँजका बादलहरूका बीचबाट दौडिने वा हिँड्ने गर्दछन् ।
२७. लिबिया र सिरियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने सहमति, १४ वर्षपछि त्रिपोलीमा सिरियाली दूतावास पुनः सञ्चालन
लिबियाका कार्यवाहक विदेशमन्त्री ताहिर अल–बाउर र सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीबीच आईतवार त्रिपोलीमा द्विपक्षीय हित र कुटनीतिक सम्बन्ध विस्तारका विषयमा महत्वपूर्ण भेटवार्ता भएको छ । लिबियाली परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई देशका अधिकारीहरूबीच आपसी चासोका विषय, लिबिया–सिरिया सम्बन्धलाई अगाडि बढाउने उपाय र द्विपक्षीय समन्वय एवं परामर्शलाई सुदृढ गर्नेबारे विस्तृत छलफल भएको छ । यस वार्ताको मुख्य उपलब्धिका रूपमा लिबियाको राजधानी त्रिपोलीमा सिरियाली दूतावास पुनः सञ्चालनमा आएको छ । विगत १४ वर्षदेखि बन्द रहेको उक्त दूतावास आइतबारदेखि नै सञ्चालनमा आएको हो।
२८. नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक छः सचेतक राई
नेपाली काँग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद सुचारु गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीपीडितहरुको व्यवस्थापन तथा पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताउनु भयो । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन आवश्यक रहेको उहाँको भनाई छ ।
२९. रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल छः प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरुको यकिन तथ्याङ्क नरहेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनु भयो । उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भईरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् ।
३०. रसुवावासीको सरकारलाई आग्रहः ‘सास बचाउन नसकेपनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’
रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पु¥याएको छ । बाढीले सयौँको ज्यान गएको छ भने हजारौँ सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरे, बेत्रावति, स्याँप्रुवेशी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन् । रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानिय विनाशकारी बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन् । बेत्रावतीबाट आफन्तको सहयोगमा करिव ९ घण्टा लगाएर आईतवार राती केही बाढी प्रभावित काठमाडौं आईपुगेका छन् । उनीहरुकाअनुसार बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपनि उद्धार र राहत समयमै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन ।
३१. सरकारको सक्रियता सामाजिक सञ्जाल र भुगोलमा फरक देखिएको छः निश्कल राई
नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ । सोमवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको सक्रियता समाजिक सञ्जालमा देखिएको जस्तो भुगोलमा नरहेको बताउनुभएको हो । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको उहाँले बताउनु भयो ।
३२. जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छः ओली
नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुुपर्ने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायुजन्य विपद् तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको बताउनु भयो । उहाँले रसुवा बाढीजस्तै मानवीय कारणबाट भएका पर्वतीय तथा अन्य विपद्मा नेपालको कुनै योगदान नरहेको दाबी गर्दै वातावरण विनाशमा बढी योगदान गर्ने विकसित देशले त्यसको क्षति व्यहोर्नुपर्ने बताउनु भयो ।
३३. प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका सरकारलाई १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण पछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिट्यान्स सुविधा उपलब्ध गराएको समेत जानकारी दिनुभयो । उहाँकाअनुसार विश्वका जुनसुकै देशबाट पनि प्रधानमन्त्री राहत कोषमा १० सेप्टेम्बरसम्म निःशुल्क रकम पठाउन सकिनेछ ।
३४. भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी होः अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको बाढी एउटा विपद्को घटना मात्र नभई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भोटेकोशीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताउनु भयो ।
३५. रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित
सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरुको उद्धारमा ढिलाई गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ । सोमवार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान शुरु गरिएको बताउनु भयो । अध्यक्ष बरालले भीषण बाढीपछि केही व्यक्तिको सकुशल उद्धार भएपनि केही अझै सुरुङभित्र जीवन–मरणको दोसाँधमा रहेको बताउनु भयो ।
३६. विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गर्नुभयो । उहाँले विपद्पछि केन्द्रिय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij