२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विनाशकारी बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोनमार्फत संवाद गरेका छन्।
आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट गरिएको संवादमा लामिछानेले बाढी–पहिरोबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र स्थानीय तहले सामना गरिरहेका समस्याबारे जानकारी लिएका हुन्। संवादका क्रममा स्थानीय तहका प्रमुखहरूले सडक, विद्युत्, शव व्यवस्थापन, खाद्यान्न, ग्यास, अस्थायी आवास तथा सुरक्षा व्यवस्थालगायतका समस्या तत्काल समाधान गर्नुपर्ने बताएका थिए।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडकसँग जोड्नुपर्ने बताए। उनले शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव रहेको र विद्युत्को वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि थप उपाय अपनाउनुपर्ने तथा सीमित भए पनि जेनेरेटरमार्फत विद्युत् आपूर्ति गर्नुपर्ने माग गरे।
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्चालन, ग्यास आपूर्ति र विद्युत् पुनःस्थापनाको काम तत्काल अघि बढाउनुपर्ने बताए। उनले तत्काल एक हजार ग्यास सिलिन्डर आवश्यक रहेको समेत जानकारी गराए।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर समस्या भन्दै तत्काल समाधान गर्नुपर्ने बताए। उद्धारमा सुरक्षाकर्मी परिचालित हुँदा नियमित सुरक्षा व्यवस्थामा समेत समस्या देखिएको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उनको माग थियो।
त्यस्तै, नुवाकोटको बेलकोटगढी गाउँपालिकाका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले पनि कम्तीमा १०० वटा टेन्ट आवश्यक रहेको जानकारी गराए।
स्थानीय तहका प्रमुखहरूले उठाएका समस्या सुनेपछि सभापति लामिछानेले सरकार तथा सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विभिन्न मन्त्रीहरूसँग समेत समन्वयको प्रक्रिया अघि बढाएको रास्वपाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij