२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोका कारण थुनिएको नदीबाट बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर फराकिलो रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चिनियाँ सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का अनुसार एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनमा तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको हो ।
पहिरोका कारण नदी थुनिएर बनेको उक्त ताल ठूलो क्षेत्रफलमा फैलिएको भए पनि हाल ताल नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांक उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।
यसैबीच, सो क्षेत्रमा दोस्रो बाँध ताल–२ समेत पहिचान गरिएको छ । यो ताल पहिलो ताल रहेको स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको बताइएको छ ।
भदौ १० गते आएको भीषण बाढीपछि चिनियाँ पक्षले सीमाक्षेत्रमा थप जोखिमको अवस्था बुझ्न निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको छ । विशेषगरी पहिरोका कारण नदी थुनिएर बनेका ताल र सम्भावित पानीको बहावबारे चिनियाँ पक्षले निगरानी बढाएको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij