Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

आज दिनभरको २९ खबर एकै ठाउँमा

आज दिनभरको २९ खबर एकै ठाउँमा


  • 1.8K
    Shares

    आज दिनभरको २९ खबर एकै ठाउँमा
    images

    १. सूचना प्रविधि क्षेत्रको विकासका लागि पाँचवर्षे मार्गचित्रसहित सरकार अघि बढ्दैछः डा. स्वर्णिम वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताउनुभएको छ ।
    मंगलवार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीहरूसँगको छलफलका क्रममा उहाँले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएको हो । डा. वाग्लेले सन् २०२२ मा ‘आईआईडीएस’ ले गरेको अध्ययन प्रतिवेदनलाई सूचना प्रविधि क्षेत्रको ‘ब्रेक थ्रु’ का रूपमा चित्रण गर्नुभयो । उक्त प्रतिवेदनअनुसार नेपालबाट वार्षिक करिव ६०० मिलियन डलर बराबरको सफ्टवेयर निर्यात हुने गरेको, ६६ हजारभन्दा बढी फ्रीलान्सरहरू सक्रिय रहेको र १०२ वटा आईटी कम्पनीहरू सञ्चालनमा रहेको तथ्याङ्क प्रश्तुत गरिएको थियो । 

    २. विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनभन्दा नीतिगत सुधार र पुँजी बजारको सुदृढीकरण आवश्यकः अर्थशास्त्री अर्याल

    लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गर्नुभएको हो । 

    ४. राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण

    सांसदहरूले मुलुकको कुटनीतिक अवस्था, जनस्वास्थ्यमा देखिएका गम्भीर समस्या, भौतिक पूर्वाधारको ढिलासुस्ती र बाढी–पहिरोको जोखिम जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद जगत तिमल्सिनाले नेपालको परराष्ट्र नीति र कुटनीतिक प्रतिनिधित्वमा देखिएको रिक्तताप्रति प्रश्न उठाउनु भयो । ३१ वैदेशिक नियोगमध्ये २१ वटामा राजदुत नहुँदा ती नियोगहरू कार्यवाहकको भरमा चलिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

    ५. मुलुकलाई समृद्ध बनाउन हरित ऊर्जा र विद्युतीय सवारीमा जोड दिनुपर्छः उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलवारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गर्नुभयो । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उहाँको विश्वास छ । 

    ६. पुँजी बजार सुधारका लागि नयाँ ऐन र आधुनिक प्रविधि आवश्यकः पूर्वकार्यकारी निर्देशक गिरी

    नेपाल धितोपत्र बोर्ड (सेवोन) का पूर्वकार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको स्थायित्व र विकासका लागि कानूनी सुधार र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै गिरीले विद्यमान ऐन र संरचनामा रहेका कमजोरीहरू औंल्याउनुभएको हो । गिरीले वर्तमान कानुनमा वित्तीय प्रविधि (फिनटेक) सम्बन्धी व्यवस्था नहुनु बजारको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । बजारको वृद्धिका लागि आधारभुत तत्वहरूको विकास गर्नुको सट्टा सरकार र नियामक निकायलाई बजार बढाउन दबाब दिने परिपाटी गलत रहेको उहाँको तर्क छ ।

    ७. पिकलबल विश्वकप नेपाली टोली घोषणा

    भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेरसमूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ । उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथि सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी घोषणा गरिएको हो । पिकलबल एसोसिएसन नेपालले नक्सालमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्पmत नेपाली खेलाडीको नाम सार्वजनिक ग¥यो । सिनियर क्याटेगोरीमा हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् । ओपन क्याटेगोरीमा भने ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन् ।

    ८. नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत, जलविद्युत क्रान्तिमा बजारको ठूलो योगदानः विश्लेषक घिमिरे

    पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भुमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पूँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै उहाँले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले यसको महत्वलाई प्रष्ट पारेको उल्लेख गर्नुभयो । घिमिरेकाअनुसार हाल नेपालको कुल जीडीपी ६० खर्ब रुपैयाँ रहेको छ भने शेयर बजारको पुँजीकरण करिव ४६ खर्ब रुपैयाँ पुगेको छ । यस तथ्याङ्कले नेपालको अर्थतन्त्रको ७७ प्रतिशत हिस्सा पुँजी बजारले ओगटेको देखाउँछ । 

    ९.नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

    राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मंगलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । 

    १०. क्वाँटी पूर्णिमाको तयारीः हनुमानढोका ल्याइयो चाङ्गुनारायणको कलश

    जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाङ्गुनारायणको कलशलाई काठमाडौंको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ । भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाङ्गुनारायण, सरस्वती र लक्ष्मीको प्रतिकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार क्वाँटी भिजाउने प्रयोजनका लागि चाङ्गुनारायण मन्दिर परिसरबाट यो जल ल्याउने प्रचलन छ । विशेषगरी नेवार समुदायमा जनै पूर्णिमाको चार दिनअगाडि कलशमा ल्याइएको सोही जल प्रयोग गरी क्वाँटी भिजाएर पर्वको औपचारिक शुरुवात गरिन्छ । नौ प्रकारका गेडागुडी मिसाएर तयार पारिने पौष्टिक आहार ‘क्वाँटी’ को सेवनले वर्षायाममा खेतीपातीका क्रममा शरीरमा पसेको चिसो फाल्ने र विभिन्न रोगहरूबाट मुक्त भइने जनविश्वास रहेको छ ।

    ११. कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

    आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो । महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन् ।

    १२. आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले भदौ ९ गतेदेखि यसको शुरुवात गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ । ‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर यो पोर्टल विकास गरिएको हो । 

    १३. अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’ को समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको बताउनु भयो । सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसका लागि ठोस रणनीति र योजनाको अभाव रहेको उहाँले टिप्पणी गर्नुभयो । 

    १४. अष्ट्रेलियामा आवास संकटः सबै मुख्य शहरमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च

    अष्ट्रेलियाका सबै मुख्य शहरहरूमा औसत आम्दानीको आधाभन्दा बढी हिस्सा घरभाडामा खर्च हुने गरेको एक प्रतिवेदनले देखाएको छ । सोमवार सार्वजनिक गरिएको एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार देशका सबै राजधानी सहरहरूमा एउटा फ्ल्याट (युनिट) भाडामा लिन औसत राष्ट्रिय आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ । प्रतिवेदनकाअनुसार, वार्षिक ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिको आम्दानीको ५६ प्रतिशत हिस्सा राष्ट्रिय औसत घरभाडा तिर्नमै खर्च हुने गरेको छ । 

    १५. इरानको चेतावनीः ‘आक्रामक पक्ष’को शर्तमा युद्ध अन्त्य हुन दिँदैनौँ

    इरानले आफ्नो मुलुकविरुद्ध आक्रामक देखिएका पक्षहरूको शर्तमा युद्धको अन्त्य हुन नदिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । प्रवक्ता बाघेईले इरानले कहिल्यै पनि युद्धको सुरुवात नगरेको स्मरण गराउँदै आक्रामक पक्षले राखेका सर्तहरूका आधारमा युद्ध टुङ्ग्याउन नदिने बताए । उनले इरान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै ‘आक्रामक पक्ष’सँग कुनै पनि सम्झौता नगर्ने र उनीहरूको ’अत्यधिक माग’सामु नझुक्ने दृढता व्यक्त गरे । अमेरिकाले स्ट्रेट अफ हर्मुज खुला रहेको र त्यहाँबाट दैनिक लाखौँ ब्यारेल तेल आपूर्ति भइरहेको भनी गरेको दाबीलाई बाघेईले खारेज गरिदिएका छन् । 

    १६. इरानलाई थप एक्ल्याउन अमेरिकाद्वारा ‘अपरेशन इकोनोमिक आउटकास्ट’ घोषणा, ६० भन्दा बढी निकायमाथि प्रतिवन्ध

    अमेरिकाले इरानविरुद्ध आर्थिक डी–डेको चेतावनी दिँदै नयाँ र कठोर प्रतिवन्धहरूको घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा एक्ल्याउने उद्देश्यले ‘अपरेशन इकोनोमिक आउटकास्ट’ शुरु गरिएको जानकारी दिनुभएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा चालिएको यस कदमलाई इरानको वित्तीय सञ्जालविरुद्धको एक अभूतपूर्व अभियानका रूपमा हेरिएको छ । अर्थमन्त्री बेसेन्टकाअनुसार इरानको तर्फबाट मुद्रा निर्मलीकरण (मनी लाउण्डरिङ) मा सहयोग पु¥याउने जुनसुकै निकायलाई अमेरिकी डलर प्रणालीबाट निष्कासित गरिनेछ । 

    १७. टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए

    दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिव ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि उद्धार टोलीहरूले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तिब्रता दिएका छन् । टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिवार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार आईतवार साँझसम्ममा प्रभावित क्षेत्रबाट करिव ४ हजार सर्वसाधारणलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

    १८. पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई जनाको मृत्यु

    अमेरिकी सैन्य कमाण्ड (साउथकम) ले आईतवार पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि नयाँ सैन्य आक्रमण गरेको छ । उक्त कारबाहीमा परी डुङ्गामा सवार दुई जनाको मृत्यु भएको साउथकमले पुष्टि गरेको छ । साउथकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने नियमित मार्गमा सञ्चालित एक लो–प्रोफाइल’ डुङ्गालाई सैन्य आक्रमण गरी डुबाइएको हो । 

    १९. लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी

    यमनको विद्रोही समूह हुथीले सोमवार लाल सागरमा रहेको एक साउदी तेल ट्याङ्करमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । समूहले साउदी अरेबियासँगको सीमा नजिक साउदी सैन्य बल र एउटा कन्भोयमाथि पनि छुट्टाछुट्टै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले समूहको आधिकारिक टेलिभिजन च्यानल ‘अल–मसिराह’ मार्फत जारी गरेको विज्ञप्तिअनुसार ‘अमजान’ नामक साउदी ट्याङ्करलाई उत्तरी लाल सागरमा प्रहार गरिएको थियो । प्रवक्ता सारियाले सो आक्रमण ‘सटिक र प्रत्यक्ष’ भएको र त्यसका कारण जहाजमा आगलागी भएको दाबी गरेका छन् । उनले आक्रमणपछि त्यस क्षेत्रमा रहेका अन्य जहाजहरू सुरक्षित स्थानतर्फ लागेको समेत उल्लेख गरे । 

    २०. कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी

    महिला उद्यमीहरुले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलवार काठमाडौंको होटल ¥याडिसनमा महिला उद्यमीहरुको उत्पादनलाई प्रर्दशन गरेको हो । प्रदर्शनीमा महिला उद्यमीहरुले मह, जडिबुडी, कफी, चिया, कपडा लगायतका उत्पादन राखेका छन् । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धी सरोकारवालासँग छलफल समेत आयोजना गरेको थियो । छलफलमा निजी क्षेत्र, सरोकारवाला लगायतको सहभागीता रहेको थियो । आध्यान्ता फण्ड म्यानेजमेण्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो । 

    २१. फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन

    काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताउनुभएको छ । फोरमले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानिय सरकारले उपत्यकामा फोहोर व्यवस्थापन गर्न नसक्ने बताउनुभएको हो । उहाँले संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । संघीय सरकारको फोहोर व्यवस्थापन योजना कार्यान्वयनमा लाग्ने लागतमा व्यहोर्न स्थानीय तह तयार रहेको उहाँको भनाई छ । 

    २२. माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताउनुभएको हो । उहाँले माटोसुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई पनि प्राथमिकतामा राखेको बताउनु भयो । उर्वर भूमिमा भइरहेको कङ्क्रिटकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने विषयमा सरकारले माटो सुधार योजनालाई अघि सारेको उहाँको भनाई छ । उहाँकाअनुसार माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको छ । 

    २३. मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

    काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ । फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो । 

    २४. वन क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छः योजना आयोग सदस्य मल्ल

    राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवद्र्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले आयोजना गरेको ‘वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नती’ विषयक कार्यक्रममा उहाँले वन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले सामुदायिक वन उपभोक्ता समूह र वनमा आधारित उद्यममार्फत स्थानीय रोजगारी विस्तार गर्न सकिने बताउनु भयो । नेपालमा रहेका २३ हजार सामुदायिक वन उपभोक्तामार्फत वन क्षेत्रमा रोजगारी अभिवृद्धिका गर्न अथाह सम्भावना रहेको उहाँको भनाई छ ।

    २५. आउटसोर्सिङबाट आएका श्रमिकको हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

    श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले आउटसोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पार्नुभयो । उहाँले आउटसोर्सिङबाट आएका कामदारको हकमा रोजगारदाताले सबै जिम्मेवारी आउटसोर्सिङ कम्पनीलाई थोपार्ने प्रवृत्ति रहेको पनि बताउनु भयो ।

    २६. विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी

    अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । मंगवार राजधानीमा एक कार्यक्रमका बीच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका गम्भीर समस्या भोगिरहेको बताउनु भयो । उहाँले विगतमा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या प्रमुख रहेपनि अहिले अध्ययनका लागि जाने विद्यार्थीको समस्या बढ्दो रुपमा रहेको बताउनु भयो । 

    २७. वैदेशिक रोजगारीमा जाने श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न तथा आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण

    प्रतिनिधि सभाका सांसदहरुले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न तथा आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद क्षितिज थेवेले कुवेतमा न्युनतम १५० केडीभन्दा कम पारिश्रमिकमा नेपाली श्रमिक नपठाउने निर्णय सरकारी तहबाट गर्नुपर्ने बताउनु भयो । 

    २८. सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढिरहेको छः मन्त्री यादव

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढिरेहको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले घरेलु श्रमलाई नियमन र औपचारिकरण नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले घरेलु श्रमलाई औपचारिक बनाउने एउटा पक्षको मात्र कुरा सुन्नुभन्दा सर्वपक्षीय छलफल आवश्यक रहेको पनि बताउनु भयो । 

    २९. पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन

    आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त ¥यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध ¥यालीले नगरका मुख्य सडकहरूको परिक्रमा गरेको थियो । ¥यालीपश्चात सहभागीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल ढोका अगाडि पुगेर धर्ना दिएका थिए । –न्युज एजेन्सी नेपाल

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - २०:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij