२०८३ भाद्र ७ गते आइतवार
१. सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताउनुभएको छ । आईतवार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । संयोजक दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गर्नुभयो । उहाँले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
२. सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान सरकार संसद र जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधीले सरकारले संसदीय गरिमा र जवाफदेहितालाई उपेक्षा गरेको बताउनुभएको हो । नेता निधीले लोकतन्त्रमा सरकारको वैधता र प्रभावकारिता संसदप्रतिको उत्तरदायित्वमा निर्भर रहने उल्लेख गर्नुभयो । शासन सञ्चालनका सन्दर्भमा सरकारले प्रदर्शन गरेको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले बदलाको भावनाले राजनीति नगर्न चेतावनी दिनुभयो ।
३. सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख छः प्रदीप ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाउनुभएको छ । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभएको हो । नेता ज्ञवालीकाअनुसार लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेका छन् । ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उहाँको तर्क छ ।
४. सदनसँगै सडकबाट पनि जनदवाव सिर्जना गर्नुपर्छः प्रदीप ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको विद्यमान समस्या समाधानका लागि सदनका साथै सडकबाट समेत जनदबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनरगठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वर्तमान चुनौतीहरूको सामना गर्न साझा मुद्दाहरूमा सहकार्य गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको हो । नेता ज्ञवालीले सदनमा रहेका दलहरूले संसदीय प्रक्रियामार्फत आवाज उठाउनु सकारात्मक भएपनि त्यो मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो । देशको वर्तमान अवस्थालाई अधोगतिको संज्ञा दिँदै उहाँले जनताको सशक्त हस्तक्षेप बिना यसलाई रोक्न नसकिने दाबी गर्नुभयो ।
५. सत्ता केन्द्रित राजनीतिले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्योः दाहाल
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको हो । उहाँले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भयो ।
६. शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सुझावलाई समेटिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा बोल्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई स्वीकार गर्दै समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको हो । मन्त्री पोखरेलले शिक्षामा लगानीको प्रसङ्ग उठाउँदै कुल बजेटको कम्तीमा २० प्रतिशत हिस्सा शिक्षामा विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा हाल करिव ११ प्रतिशत मात्र बजेट रहेको जानकारी दिनुभयो ।
७. विश्वभरका नेपालीको सामथ्र्यलाई नेपालसँग जोड्न एनआरएनएको सक्रियता, सञ्जाल १०० देशमा पु¥याइने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आईतवार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । अध्यक्ष डा. शर्माले नेपाली हुनुको पहिचान भूगोल र कानूनमा मात्र सिमित नहुने बताउनु भयो । नेपाली डायस्पोराको बढ्दो संख्या र सामथ्र्यबारे चर्चा गर्दै डा. शर्माले नेपालभित्रको जनशक्ति भन्दा नेपालबाहिर रहेको युवा जनशक्तिको अनुपात र उनीहरूको आर्थिक उपार्जन क्षमता ठूलो भइसकेको उल्लेख गर्नुभयो ।
८. विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने
शिक्षा तथा खेलकुखमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार शिक्षा मन्त्रालयद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिनुभयो । छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई तिनको दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
९.लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्छः अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताउनुभएको छ ।
आईतवार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो कुरा बताउनुभएको हो । अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रचुर भएपनि सही आर्थिक नीतिको कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभयो ।
१०. राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यकः संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गर्नुभएको हो । संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उहाँले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताउनु भयो ।
११. राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छः विमलेन्द्र निधी
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
१२. बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग
बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आईतवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध सरकारले कठोर कानून बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदर्शनकारीहरूले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।
१३. जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताउनुभएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आईतवार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उहाँको विश्वास छ ।
१४. च्यातिएका म्याटमा पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य
एशियाली खेलकुदमा ९ पल्टसम्मको सहभागितामा नेपालको उसु खेलले अहिलेसम्म यादगार बनाउन सकिरहेको छैन । सन् १९५४ को पहिलो एसियाली खेलदकुदबाट नै नेपालले सहभागिता जनाउन थाले पनि नेपालका उसु खेलाडीले सन् १९९० को ११ औं संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यसयता, एसियाली खेलकुदको ३६ वर्षको यात्रामा नेपाली खेलाडीले अहिलेसम्म पदक दिलाउन सकेका छैनन् । यसपल्ट जापानको नागोया÷आइची शहरमा एसियाली खेलकुदको २० औं संस्करण आयोजना हुँदैछ ।
१५. कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता
मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौंडास्थित सिएमसी हस्पिटलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतीले हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिनुभयो ।
१६. एनभिएलको ट्रफी सार्वजनिक
पहिलोपल्ट हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ । ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आईतवार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभिएलका सिओओ विकास खेतान उपस्थित हुनुहुन्थ्यो । उक्त ट्रफी प्रसिद्ध मूर्तिकार रवि शाक्य (टम एण्ड जेरी) ले ट्रफी निर्माण गर्नुभएको हो ।
१७. ‘म पनि छोरी, खै त सुरक्षा ?’
‘न्याय नपाएसम्म आवाज रोकिँदैन’, ‘म पनि छोरी, खै त सुरक्षा ?’, ‘प्रोटेक्ट चिल्ड्रेन नट क्रिमिनल्स’ यी र यस्तै मुटु नै छियाछिया पार्ने नारा लेखिएका प्लेकार्ड बोकेर आईतवार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सयौँ महिला, आमाहरू र युवा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको नृशंस हत्याको विरोधमा शान्तिबाटिका स्तब्ध तर आक्रोशित बन्यो । गत साउन ३१ गते आफ्नै आँगन र घरबाटै बेपत्ता भएकी ३ वर्षीया गरिमा चौधरीको खोजतलास गर्ने क्रममा भदौ २ गते छिमेककै एक घरभित्र कारुणिक र अमानवीय अवस्थामा मृत फेला परेकी थिइन् । ३ वर्षकी अवोध नानी, जसले संसारलाई राम्रोसँग चिन्नै पाएकी थिइनन्, जो आमाको काखमा लुटपुटिँदै आफ्ना तोते बोली बोल्ने उमेरमा थिइन्, उनीमाथि भएको यस्तो पाशविक र दानवीय अत्याचारले सम्पूर्ण देशको आत्मालाई नै हल्लाइदिएको छ ।
१८. ‘नीतिगत अस्पष्टता र सरकारी उपेक्षाका कारण स्वदेशी प्राङ्गारिक मल उद्योग संकटमा’
नेपालका प्राङ्गारिक मल उत्पादकहरूले स्पष्ट नीतिको अभाव, खुला सीमानाबाट हुने अवैध आयात र अव्यावहारिक गुणस्तर मापदण्डका कारण स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । कच्चा पदार्थको आपूर्ति, भण्डारण र बजारीकरणमा देखिएका जटिलताका कारण लगानी जोखिममा परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपालको प्राङ्गारिक मल क्षेत्रमा स्पष्ट नीतिको अभाव, खुला सीमाना र अव्यावहारिक गुणस्तर मापदण्डका कारण उद्योगीहरूले गम्भीर समस्या भोग्नुपरेको बताए ।
१९. अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा
संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व तथा सीमा क्षेत्रमा देखिएको तनावका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ । अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका मानिने हेरातस्थित ‘इस्लाम कला’ मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । हेरात सहरबाट करिव १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रका लागि व्यापार र पारवहनको मेरुदण्ड मानिन्छ ।
२०. काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते
रुसको नोवोरोसिस्क बन्दरगाह नजिकै काला सागर (ब्ल्याक सी) मा टर्कीको एक व्यापारिक जहाजमाथि आक्रमण भएको छ । उक्त घटनामा परी एक जना नाविकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ‘काल्योन्कु डेनिसिलिक’ कम्पनीद्वारा सञ्चालित ‘युरल’ नामक जहाजमाथि मध्यरातमा उक्त आक्रमण भएको हो । आक्रमणका बावजुद जहाजले आफ्नो यात्रा जारी राखेको र शनिवार टर्कीको उत्तरी बन्दरगाह सामसुन पुगेको ‘इहलास न्युज एजेन्सी’ले जनाएको छ ।
२१. क्षेत्रीय द्वन्द्व र आर्थिक चुनौतीका कारण टर्कीको पर्यटन क्षेत्रमा अनिश्चितता
मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव, आन्तरिक मुद्रास्फीति र स्थानीय मुद्राको अधिमूल्यनका कारण टर्कीको पर्यटन क्षेत्रले यस वर्षको ग्रीष्मकालीन सिजनमा अनिश्चितताको सामना गरिरहेको छ । विश्लेषकहरूकाअनुसार मध्यपूर्वको संकटले पूर्वी भूमध्यसागरीय क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूको मनोविज्ञानमा असर पारेको छ । यसको प्रत्यक्ष प्रभाव टर्कीका तटीय रिसोर्ट बजारहरूमा स्पष्ट रूपमा देखिएको छ । टर्की प्रत्यक्ष रूपमा द्वन्द्वको चपेटामा नपरे पनि र यहाँका प्रमुख विमानस्थल तथा पर्यटकीय स्थलहरू सामान्य रूपमा सञ्चालन भइरहे तापनि, सम्भावित आगन्तुकहरूमा बढेको शतर्कताका कारण ‘लास्ट मिनेट बुकिङ’ (अन्तिम समयमा गरिने बुकिङ) तर्फको झुकाव बढेको छ ।
२२. टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध ‘इन्टरपोल रेड नोटिस’ जारी गर्न टर्कीले गरेको औपचारिक अनुरोध र सिरियाली सैन्य अखडामा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ । टर्कीका न्यायमन्त्री अकिन गुर्लेकले शुक्रबार दिएको जानकारीअनुसार गाजाको नाकाबन्दी तोड्ने उद्देश्यका साथ गत मे महिनामा टर्कीबाट प्रस्थान गरेको ‘ग्लोवल सुमुद फ्लोटिला’ अभियानका अभियन्ताहरूलाई इजरायलले नियन्त्रणमा लिएको विषयमा टर्कीमा चलिरहेको फौजदारी मुद्दाको सिलसिलामा नेतान्याहूविरुद्ध रेड नोटिसको माग गरिएको हो ।
२३. टर्कीमा नवपाषाण कालीन पुरातात्विक क्षेत्रलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने
टर्की सरकारले आफ्नो दक्षिणपूर्वी प्रान्त सान्लिउर्फामा अवस्थित एक पुरातात्विक क्षेत्रमा नयाँ तथ्यहरू फेला परेको सार्वजनिक गर्दै त्यहाँ खुला सङ्ग्रहालय निर्माण गर्ने घोषणा गरेको छ । टर्कीको सञ्चारमाध्यम ‘मिलियत’ ले त्यहाँका संस्कृति तथा पर्यटन मन्त्रीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एर्सोयकाअनुसार ईसापूर्व नवौँ सहस्राब्दीको मध्यतिरको मानिएको ‘सायबुर्च’ नामक पुरातात्विक स्थलमा करिब २,७०० वर्गमिटर क्षेत्रफलमा झन्डै ७० वटा संरचनाहरू फेला परेका छन् ।
२४. प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाबाट २५ सय भन्दा बढीको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला महामारी नियन्त्रणका लागि खोपको पहिलो खेप राजधानी किन्शासा पुगेको छ । ५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेको र २ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको यस प्रकोपलाई रोक्न सरकारले खोप अभियानलाई तिब्रता दिएको हो । कंगोको स्वास्थ्य मन्त्रालयकाअनुसार राजधानी किन्शासास्थित एन‘डिजिली अन्तर्राष्ट्रिय विमानस्थलमा ‘इर्भवेबो’ खोपको कुल १६ हजार ५ सय २० मात्रा (डोज) आइपुगेको छ । मन्त्रालयले अगस्ट २१ देखि २४ को बीचमा थप ५० हजार १ सय २० मात्रा खोप आइपुग्ने अपेक्षा गरिएको जानकारी दिएको छ ।
२५. विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना
नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय तहलाई संविधानले दिएको अधिकारमा हस्तक्षेप नगर्न संघीय सरकारसँग आग्रह गर्नुभएको छ । शिक्षा मन्त्रालयले आईतवार आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा उहाँले विद्यालय शिक्षामा संघिय सरकारले अनावश्यक हस्तक्षेप गरेको बताउनुभएको हो । उहाँले कक्षा १२ सम्मको विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकारको विषय भएको उहाँले बताउनु भयो । संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्दा विद्यालय व्यवस्थापन समिति गठनमा नै समस्या उत्पन्न भएको आरोप लगाउनु भयो । उहाँले विद्यालय व्यवस्थापन समितिसम्बन्धी प्रश्तावित व्यवस्थाले स्थानीय तहको एकल अधिकारमा हस्तक्षेप गर्न नहुने बताउनु भयो ।
२६. शैक्षिक गुणस्तर वृद्धि गर्न सीपमुलक पाठ्यक्रम निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
शैक्षिक गुणस्तर वृद्धि गर्न सीपमुलक पाठ्यक्रम निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षा मन्त्रालयले आईतवार आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा सहभायीहरुले समयसापेक्ष र सीपमूलक पाठ्यक्रम निर्माणमा जोड दिएका हुन् । साथै सहभागीहरुले शिक्षा सम्बन्धी ऐन निर्माणमा सबै पक्षको समान प्रतिनिधित्व र अपनत्व सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन् । नेपाल राष्ट्रिय अभिभावक संघका प्रतिनिधि कोषबहादुर जिसीले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी हुँदाहुँदै पनि शैक्षिक गुणस्तरमा देखिएका कमजोरीको कारण पहिचान गरी ऐनमै समाधान खोजिनुपर्ने बताउनु भयो ।
२७. आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिले मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेकुरामा आफूहरु सचेत हुनुपर्ने बताउनुभएको छ । आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो क्रियाकलापका कारण मुलुकको लोकतन्त्र कमजोर हुन नदिन अत्यन्त जिम्मेवार बन्न आम नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले आज विभिन्न संस्थाहरु डराएको उल्लेख गर्दै संस्थाहरु भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताउनु भयो । सभापति लामिछानेले लोकतन्त्र एकैपटक ध्वस्त हुने सानो घर नभएको समेत टिप्पणी गर्नुभयो ।
२८. आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी
नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ । सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो जानकारी दिनुभएको हो । उहाँले थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार यो प्रक्रिया सफल भए आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने । जसमध्ये आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै हुने उहाँको भनाइ छ ।
२९. कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुष्ठरोग प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी तथा समाजबाट अलग हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारले कानूनी प्रवन्ध मिलाउनुपर्ने बताउनु भयो ।
३०. कुष्ठरोगप्रतिको सामाजिक मानसिकता बदल्न सचेतना आवश्यकः कार्यवाहक प्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै प्रभावित व्यक्तिमाथि कुनैपनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिनुभयो ।
३१. जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेन–जी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् । जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिनुभयो ।
३२. पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरूलाई विदेश पलायन हुनबाट रोक्न सबै एकजुट हुन जरुरीः सांसद शेर्पा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरु एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमाली पथप्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्ण चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो ।
३३. पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको कार्ययोजना ल्याउनू
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिनुभयो ।
३४. पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुटबन्दी र विवाद नरहेको सन्देश दिनुभएको छ । आईतवार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टी कार्यकर्तालाई यस्तो सन्देश दिनुभएको हो । उहाँले पार्टीभित्र विवाद रहेको विषयमा बजारमा हुने गरेका हल्लाहरुको पछि नलाग्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले पार्टीको प्रथम महाधिवेशनमार्फत समायोजनको सम्पूर्ण कार्य सम्पन्न भइसको समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टीले बनाएको विधि, निर्देशिका, नियमावली तथा अनुमोदित राजनीतिक दस्तावेजको अक्षरशः पालना गरिने समेत स्पष्ट पार्नुभयो ।
३५. माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न ससरकारलाई अल्टिमेटम दिएका छन् । जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij