Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

बागमतीमा किरण थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी

बागमतीमा किरण थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी


  • 512
    Shares

    बागमतीमा किरण थापालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी
    images

    काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन् । राप्रपाको समर्थनलाई लिएर विवाद भइरहेका बेला प्रदेश प्रमुख देवकोटाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार थापालाई आज अपराह्न ४ः०५ बजे मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । त्यसपछि ४ः२० बजे नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आयोजना हुनेछ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यका रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले समर्थन गरेको दाबी गरिएको छ । तीन दलका संसदीय दलको समर्थनसहितको निवेदन भदौ ३ गते नै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको र सोही आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    तर, राप्रपाभित्र भने थापालाई दिएको समर्थनलाई लिएर विवाद देखिएको छ । राप्रपा केन्द्रले संसदीय दलबाट दिइएको समर्थनलाई मान्यता नदिन प्रदेश प्रमुखलाई पत्राचार गरिसकेको छ । राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले समेत समर्थनसम्बन्धी पत्रमाथि प्रश्न उठाउँदै पत्राचार गरेकी छन् ।

    राप्रपा केन्द्रले पार्टीको आधिकारिक निर्णयबिना संसदीय दलबाट दिइएको समर्थनलाई दलको समर्थन मान्न नसकिने बताउँदै आएको छ । यही विवादका बीच प्रदेश प्रमुखले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाएका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहमा उपस्थित हुने अतिथिलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ ।  

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १२:२५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij