Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा अनिवार्य अभिलेख गरिने

अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा अनिवार्य अभिलेख गरिने


  • 491
    Shares

    अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा अनिवार्य अभिलेख गरिने
    images

    काठमाडौं । अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने व्यवस्था लागू गरेको हो ।

    नयाँ कार्यविधिअनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक, मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्नेछ । यो व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड तथा विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण प्रणालीअनुसार लागू गरिएको मन्त्रालयले जनाएको छ ।

    अब अस्पतालमा भर्ना भएर मृत्यु भएका, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका वा मृत अवस्थामा ल्याइएका तथा शव परीक्षण गरिएका सबै घटनाको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

    नयाँ प्रणालीको महत्वपूर्ण पक्षका रूपमा प्रत्येक मृतकलाई ‘युनिक आइडेन्टिफिकेसन नम्बर’ उपलब्ध गराइनेछ । अस्पतालले चिकित्सकद्वारा प्रमाणित मृत्युको कारणसहितको प्रमाणपत्र र यूआइएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ । सोही नम्बरका आधारमा परिवारले स्थानीय तहको वडा कार्यालयबाट सहज रूपमा मृत्यु दर्ता गर्न सक्नेछन् ।

    मन्त्रालयका अनुसार अस्पतालमा संकलन हुने मृत्युको तथ्याङ्कलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग अन्तरआबद्ध गरिनेछ । यसले मृत्यु दर्ता प्रक्रियालाई पारदर्शी बनाउनुका साथै फर्जी मृत्यु दर्ता तथा अभिलेखमा हुने त्रुटि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यविधिले अस्पताललाई मृत्युको विवरण राख्न मात्रै नभई रोक्न सकिने मृत्यु घटाउनसमेत जिम्मेवार बनाएको छ । अस्पतालहरूले मृत्युका कारण र तथ्याङ्कको नियमित विश्लेषण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण र रोकथामका उपायसहित कार्ययोजना बनाउनुपर्नेछ ।

    नयाँ प्रणालीलाई प्रभावकारी बनाउन मोबाइल एप्लिकेसनसमेत प्रयोगमा ल्याइने भएको छ । साथै संघ, प्रदेश र स्थानीय तहमा यसको कार्यान्वयन तथा अनुगमनका लागि सहजीकरण समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।

    h0.jpg

    h1.jpg

     

    h2.jpgh3.jpg

     

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १७:२५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij