Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि


  • 512
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
    images

    काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो ।

    आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी रु ११ अर्ब ९६ करोड ६१ लाख पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७.८५ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको कूल सञ्चालन आम्दानी रु १३ अर्ब १८ करोड ५५ लाखबाट १४.१९ प्रतिशतले बढेर रु १५ अर्ब पाँच करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

    बैंकको खुद सञ्चालन नाफा (करअघिको) रु तीन अर्ब ९४ करोड २० लाखबाट ६४.२६ प्रतिशतले बढेर रु छ अर्ब ४७ करोड ५३ लाख पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा वितरणयोग्य मुनाफा नरहेकोमा आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब सात करोड ६९ लाख वितरणयोग्य मुनाफा रहेको छ ।

    गत असार मसान्तसम्म बैंकको कूल समग्र आम्दानी रु तीन अर्ब ९० करोड ८९ लाख रहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार सोही अवधिमा बैंकको कूल निक्षेप रु छ खर्ब ८६ अर्ब १३ करोड तथा खुद कर्जा तथा सापट रु तीन खर्ब ४० अर्ब ३३ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेप ३७.११ प्रतिशत र कर्जा तथा सापट १२.५० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्म पुँजी कोष अनुपात ११.४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०.८७ प्रतिशत र असारको आधारदर ४.२० प्रतिशत रहेको छ । बैंकको त्रैमासिक औसत आधार दर ४.२२ प्रतिशत रहेको छ ।

    बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, ब्याजदर अन्तर ३.३७ प्रतिशत, कोषको लागत दर२.९६ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु २९.१४ रहेको छ ।

    हाल उक्त बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३१६ वटा शाखा कार्यालय, ३३५ वटा एटिएम तथा एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।

    उनका अनुसार बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कूल ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । समयसापेक्ष ग्राहकको माग बमोजिम परिष्कृत सेवा दिइरहेको बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृतसमेत भइसकेको छ ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १७:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij