२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.२३ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ । अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो ४.८६ प्रतिशतको वृद्धि हो ।
बैंकको खुद ब्याज आम्दानीसमेत बढेको छ । अघिल्लो आवमा ५ अर्ब ७६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको चौथो त्रैमाससम्म आइपुग्दा ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेको छ । अघिल्लो आवमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आवमा बढेर ३.९८ प्रतिशत पुगेको छ ।
बैंकले कोषको लागत घटाउन भने सफलता हासिल गरेको छ । अघिल्लो आवमा ४.२३ प्रतिशत रहेको कस्ट अफ फन्ड घटेर ३.२७ प्रतिशतमा झरेको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७८.४५ प्रतिशत, आधार दर ५.०४ प्रतिशत र इक्विटीमा प्रतिफल १०.३६ प्रतिशत रहेको छ ।
गत आवको अन्त्यसम्म बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ । अघिल्लो आवमा १५.५९ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर १७.४९ रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij