२०८३ श्रावण २९ गते शुक्रवार
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ।
घटनास्थलमा ५ जना र बाढीले बगाएर लगेको अवस्थामा प्युठानमा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा ज्यान गुमाउनेमा ५ वर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म छन्।
बुधबार राति कोटलबारा गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरोले गाउँका ११ वटा घरगोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो। पहिरोमा परेर ३ जना अझै बेपत्ता छन्। उनीहरूको खोजतलास चलिरहेको छ।
दुईजना गम्भीर घाइतेको बुटवलमा उपचार भइरहेको छ। पहिरो खस्दा भागेर ज्यान जोगाएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको बुटवलमा उपचार चलिरहेको हो। उनीहरूले नै प्रहरीलाई १०० सयमा फोन गरेर राति घटनाको बारेमा जानकारी गराएका थिए।
घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगरको शव फेला परेको हो। त्यसैगरी रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदीका विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
प्युठानमा शव भेटिएकामा ३८ वर्षीया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षीय बालक अशोक पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।
पहिरोमा परी गम्भीर घाइते भएका हिमाल र सञ्जय लाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ। ‘पहिरोले ९ वटा घर, एउटा घुम्ती पसल, २ वटा गोठ र एउटा चर्च पुरिएको छ,’ श्रेष्ठले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij