२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनर्संरचना गरेको छ । नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गतको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ । जसअनुसार मन्त्रालयअन्तर्गत १२९ कर्मचारीको दरबन्दी थप गरिएको हो ।
निजामती कर्मचारीको प्रथम श्रेणी सहसचिवको दरबन्दी भने नयाँ ओएण्डएममा घटाइएको छ । एक जना सचिवको दरबन्दी यथावत् रहेको छ । बाँकी पदका दरबन्दी भने थप गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले नयाँ ओएण्डएमको प्रतिवेदन स्वीकृत भएको र त्यसमा सहसचिवको दरबन्दी घटेको जानकारी दिएका छन् । साबिकमा गृह मन्त्रालय अन्तर्गत ७५ सहसचिवको दरबन्दी रहेकोमा त्यो सङ्ख्या ९ जना घटाएर ६६ जना कायम गरिएको छ ।
६ जना उपसचिवको दरबन्दी बढाइएको छ । साबिकमा १५५ जना उपसचिवको दरबन्दी रहेकोमा बढाएर १६१ पुर्याइएको छ ।
नयाँ ओएन्डएम सर्वेक्षणबाट शाखा अधिकृत, नायब सुब्बा खरिदार, मन्त्रालय अन्तगत स्वास्थ्य सेवामा काम गर्ने कर्मचारी र श्रेणीविहिन कर्मचारीको दरबन्दी बढाइएको छ ।
शाखा अधिकृते पदमा ५३ दरबन्दी थप गरिएको छ । साबिकमा ५९१ शाखा अधिकृतको दरबन्दी रहेकोमा बढाएर ६४४ पुर्याइएको हो । त्यसैगरी, नायब सुब्बा पदमा ५१ दरबन्दी थप गरिएको छ । १ हजार ३७० जनाको दरबन्दी रहेकोमा थप गरेर १ हजार ४२१ पुर्याइएको हो ।
मन्त्रालयको साउन २५ गतेको निर्णयअनुसार खरिदारको दरबन्दी पनि ३ जना थप गरिएको छ । ७१४ जनाको दरबन्दी रहेकोमा बढाएर ७१७ पुर्याइएको हो । त्यस्तै स्वास्थ्य सेवामा ८ दरबन्दी थप गरिएको छ । १३८ जनाको दरबन्दी रहेकोमा बढाएर १४६ पुर्याइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
श्रेणीविहीन कर्मचारीका पनि १७ पद थप गरिएको छ । अहिलेसम्म गृह मन्त्रालय अन्तर्गत १ हजार ४३८ जनाको दरबन्दी रहेकोमा बढाएर १ हजार ४५५ पुर्याइएको हो ।
यो निर्णय अझै कार्यान्वयनमा गइसकेको छैन । छिटै कार्यान्वयनको चरणमा जाने मन्त्रालयको प्रशासन महाशाखाले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij