२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले उक्त मोडल सार्वजनिक गरेको हो ।
५८.३ किलोवाट–आवर क्षमताको ब्याट्री रहेको हाभल जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीले जनाएको छ । एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ ।
जीडब्लूएमका अनुसार यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन चेन्ज असिस्ट, इमर्जेन्सी लेन किपिङ, फर्वार्ड कोलिजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक वार्निङ र रियर क्रस ट्राफिक ब्रेकिङलगायतका सुविधा छन् ।
जोलियन म्याक्सको इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन दिइएको छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, भ्वाइस रिकग्निसन, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो सिस्टम रहेको छ ।
भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, हिटेड तथा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक ड्राइभर सिट र एम्बियन्ट लाइटिङलगायतका सुविधा पनि उपलब्ध छन् । चार्जिङतर्फ हाभल जोलियन म्याक्सले ६.६ किलोवाटसम्मको एसी चार्जिङ तथा डीसी चार्जिङ सपोर्ट गर्छ । छोटो अवधिमै दोस्रो विद्युतीय एसयूभी सार्वजनिक गरेसँगै कम्पनीले नेपाली बजारमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गरेको हो ।
कम्पनीले आगामी दिनमा प्रिमियम तथा लक्जरी सेग्मेन्टसहित विभिन्न श्रेणीमा थप मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को विशेष सुरुवाती मूल्यमा हाभल जोलियन म्याक्स ५९ लाख ९९ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij