२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ।
पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवालको कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन्।
उनका अनुसार विद्युत्गृह माथिबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ।
झ्यालबाट हाम फालेर ज्यान जोगाए विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
सिफ्ट इञ्चार्जसमेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छविलाल अर्यालले विद्युत्गृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij