२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रश्तावित कार्यकारी निर्देशकको उमेर हदसम्बन्धी प्रावधान परिमार्जन गर्न सुझाव दिएका छन् ।
सोमवार सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बरालले कार्यकारी निर्देशक पदका लागि तोकिएको न्युनतम ३० वर्षे उमेर हद हटाउनुपर्ने तर्क गरेका छन्। उनले शैक्षिक योग्यता र १० वर्षको कार्य अनुभवको मापदण्डले उम्मेदवारलाई स्वतः परिपक्व बनाउने हुँदा थप उमेरको बन्देज आवश्यक नपर्ने उल्लेख गरेका छन् ।
त्यसैगरी, उनले कार्यकारी निर्देशकको नियुक्तिमा प्रश्तावित ५५ वर्षको माथिल्लो उमेर हदप्रति पनि असहमति व्यक्त गरेका छन् । विशेषज्ञता र लामो अनुभव आवश्यक पर्ने यस्तो प्राविधिक क्षेत्रमा ५५ वर्षे सीमाले दक्ष जनशक्ति बाहिरिन सक्ने भन्दै उहाँले यसमा लचिलो हुन आग्रह गरेका छन् ।
सांसद बरालले भने, ‘हामीले १० वर्षको कार्य अनुभव र निश्चित शैक्षिक उपाधिको मापदण्ड तय गरिसकेका छौँ । ती प्रावधानले नै उम्मेदवारलाई आवश्यक उमेरको नजिक पु¥याउँछ । त्यसैले इन्ट्रीको सन्दर्भमा ३० वर्ष भनिरहनु पर्दैन, यसलाई समावेश नगर्दा नै उपयुक्त हुन्छ । नयाँलाई अवसर दिने र पुरानालाई बिदा गर्ने सेवा निवृत्तिको एउटा सिद्धान्त भएपनि यो क्षेत्रमा कार्य अनुभवलाई पर्याप्त प्राथमिकता दिनुपर्ने हुन्छ । ५५ वर्षमै बाँध्ने कुराले दक्ष जनशक्ति व्यवस्थापनमा अप्ठ्यारो पर्न सक्छ, त्यसैले यस विषयमा अलि उदार भएर सोच्न जरुरी छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij