२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते हुनेहरूमा पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन्।
त्यस्तै स्याङ्जा कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, रुपन्देही बुटवल उपमहानगरपालिका–१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा र उनका ४ वर्षीय छोरा डेसिन थापा घाइते भएका छन्।
यस्तै पाल्पा माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, रुपन्देही बुटवल–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना, जिप चालक पाल्पा माथागढी–५ का ३८ वर्षीय देवकुमार घर्ती र स्याङ्जा कालीगण्डकी–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी पनि घाइते भएका छन्।
माथागढी गाउँपालिका–५ बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते बालक डेसिन थापाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij