२०८३ श्रावण २८ गते बिहिवार
१. सुशासन र समृद्धि रातारात सम्भव छैनः सभापति ढकाल
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गर्नुभयो । उहाँले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताउनु भयो । विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै उहाँले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको र यो कार्यकालमा सबैभन्दा ठूलो विश्वास जनतामा पैदा हुने किसिमको बनाउनुपर्ने बताउनु भयो ।
२. सरकारले चार महिनामा केही छनक देखाउनुपथ्र्यो तर ‘गन्तव्यमा सुरक्षित पु¥याउने जिम्मा हाम्रो हो’– रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गर्नुभएको छ । नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभएको हो । नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताउनु भयो । मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ (अवरोध) आएपनि गन्तव्य सुरक्षित रहेको दाबी गर्नुभयो ।
३. सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौंः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उहाँले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पार्नुभएको हो । सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गर्नुभयो । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गर्नुभयो ।
४. राजधानीमा विविध कार्यक्रमसहित ३२ औं विश्व आदिवासी दिवस मनाइयो
३२ औं विश्व आदिवासी दिवसका अवसरमा आईतवार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आ–आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रश्तुत गरेका छन् । सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक भेषभुषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन् । आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
५. प्राप्त अधिकारलाई संस्थागत र पुस्तान्तरण गर्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । ३२ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले आदिवासी जनजातिको भाषा, संस्कृति, सम्पदा र पहिचान रक्षाका लागि पुस्ताौँदेखि भएको सङ्घर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मुख्य दायित्व भएको बताउनु भयो । नेपालको संविधानले समानुपातिक समावेशिता, सामाजिक न्याय र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले राज्यका निकायहरूमा विविध समुदायको प्रतिनिधित्वको ढोका खोलेको बताउनु भयो ।
६. नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक
नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’ को भुमिकामा देखिनुहुनेछ । कार्यक्रममा नेपाली चलचित्र तथा हास्य क्षेत्रका स्थापित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नुहुनेछ । कार्यक्रमका लागि देशका प्रमुख पाँच शहरहरूमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ ।
७. कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी
सङ्घीय राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्यले तिब्रता पाएको छ । राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने कार्यका लागि कान्ति राजमार्ग सडक योजनाले तीन खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । यस राजमार्गको कुल लम्बाई ८० किलोमिटर रहेको छ । हेटौँडाको बुद्ध चोकदेखि ललितपुरको एकान्तकुनासम्म फैलिएको यस सडकको मकवानपुर खण्डमा ५० किलोमिटर र ललितपुर खण्डमा ३० किलोमिटर पर्दछ । योजनाका इन्जिनियर उपेन्द्र महारानकाअनुसार हाल ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको २१ किलोमिटर खण्डको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।
८. काँग्रेस केन्द्रिय कार्यसमिति बैठकः १५ औं महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ । बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रश्तुत गर्नुभएको हो । बैठकको मुख्य एजेण्डाका रूपमा आगामी १५ औं महाधिवेशनको सन्दर्भमा व्यापक छलफल गर्ने र आवश्यक निर्णय लिने विषयलाई राखिएको छ । महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ । साथै, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ ।
९.कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल
महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गर्नुभयो । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उहाँले यस विधालाई जटिल कलाको रूपमा अथ्र्याउनु भयो । सो क्रममा उहाँले कार्यक्रममा उपस्थित कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रश्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गर्नुभयो । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गर्नुभयो ।
१०. आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आदिवासी जनजाति र उनीहरूको ज्ञानलाई केवल इतिहास वा सङ्ग्रहालयको विषय मात्र नबनाई समुदाय विकासको जीवित आधार बनाउनुपर्ने बताउनु भयो । पहिचान र भाषाको सम्बन्धबारे चर्चा गर्दै उहाँले नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गर्नुभयो ।
११. ४४ नयाँ लञ्च र ५५ ब्राण्डसहित एक्स्पो तयार–यातायात पूर्वाधार भरपर्दो नहुँदा निजी क्षेत्रको प्रयासहरु खेर जाने अवस्था
नेपालको अटोमोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री पनि हो । अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद नाइमाले आगामी अगस्ट ११ देखि १६ (साउन २७ देखि भदौ ३१) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो मोबिलिटी एक्सपो’ आयोजना गर्दैछ । ऐतिहासिक महत्व बोकेको नाइमाको दोस्रो मोबिलिटी एक्सपोको पूर्वसन्ध्यामा एक्सपोको तयारी, नयाँ लञ्च हुने गाडीहरू, लर्निङ सेसन, लगायतका विषयमा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ । प्रश्तुत छ कुराकानीको सम्पादित अंश ।
प्रश्नः ऐतिहासिक रुपमा नाइमाको दोस्रो मोबिलिटी एक्सपो हुँदैछ, अहिले एक्सपोको तयारी कहाँ पुग्यो ?
जवाफः एक्सपोको तयारी एकदम जोरशोरले चलिरहेको छ । अब त हाम्रो चार–पाँच दिन मात्रै बाँकी छ । हाम्रो भृकुटीमण्डपमा काम सुरु भइसकेको छ । सबै स्टलहरूको ह्याङ्गर लगाउने काम चलिरहेको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्राण्ड्सहरु सबै तयारी अवस्थामा छन् । अब त डेलिभरीको टाइम आयो । सो अब डेलिभर गर्ने नै हो, आफ्नो जो देखाउनुहुन्छ उहाँहरूले देखाउनुहुन्छ । हामी एकदमै तयारीमा छौँ । हाम्रो लर्निङ सेसन पूरा तयारीमा छ । खल्तीबाट टिकट्स लाइभ भइसकेको एक महिना नै हुन लाग्यो । पार्किङको व्यवस्था, ब्लु पेभिलियन हलमा लर्निङ सेसनको पूरा व्यवस्था, हाम्रो मोडरेटर्स, स्पीकर्स, प्यानल्सहरू सबैजना अब रेडी हुनुहुन्छ ।
१२. ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाउनु भयो । नेपालमा सिंह नपाइने उल्लेख गर्दै उहाँले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गर्नुभयो । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याउनु भयो । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उहाँको जोड छ ।
१३. अमेरिकी श्रम बजार कमजोरः जुलाईमा २३ हजार रोजगारी घट्यो
संयुक्त राज्य अमेरिकाको श्रम बजारमा शिथिलता छाएसँगै जुलाई महिनामा रोजगारीको संख्यामा अनपेक्षित गिरावट आएको छ । अमेरिकी श्रम तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुलाईमा २३ हजार रोजगारी कटौती भएको छ । गैर–कृषि क्षेत्रको रोजगारी (ल्यलाबचm उबथचयििक) मा मौसमी समायोजनपछि २३ हजारको गिरावट देखिएको हो। यसअघि अर्थशास्त्रीहरूले जुलाईमा ८३ हजारले रोजगारी बढ्ने प्रक्षेपण गरेका थिए । अघिल्लो महिनाको तथ्याङ्कलाई पनि संशोधन गर्दै २० हजारको गिरावट देखाइएको छ । प्रतिवेदनअनुसार बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ भने श्रम शक्ति सहभागिता दर घटेर ६१.४ प्रतिशतमा पुगेको छ । यो सहभागिता दर विगत पाँच वर्षयताकै न्युन बिन्दु हो । श्रम शक्ति सहभागिता दरले रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका जनसंख्याको हिस्सालाई जनाउँछ ।
१४. अमेरिकी सिनेटद्वारा टोड ब्ल्यान्च महान्यायाधिवक्तामा नियुक्त
अमेरिकी सिनेटले टोड ब्ल्यान्चलाई देशको नयाँ महान्यायाधिवक्ता (एटर्नी जनरल) का रूपमा नियुक्तिको अनुमोदन गरेको छ । शनिवार बिहान भएको मतदानमा ब्ल्यान्चको पक्षमा बहुमत जुटेको हो । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटमा ब्ल्यान्चको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । रिपब्लिकन पार्टीका अधिकांश सदस्यहरूले ब्ल्यान्चको समर्थन गरे पनि मेन राज्यकी सिनेटर सुसान कोलिन्स र अलास्काकी लिसा मुर्कोव्स्कीले भने उनको विपक्षमा मतदान गरेका थिए । पूर्व सङ्घीय अभियोजक समेत रहेका ब्ल्यान्च अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल हुन् । उनले सन् २०२५ मार्चदेखि उप–महान्यायाधिवक्ताको रूपमा र पाम बोन्डीको बर्खास्तीपछि गत अप्रिलदेखि कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
१५. अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित
संयुक्त राज्य अमेरिकाको सिनेटले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि सङ्घीय सरकारको कामकाज ठप्प (सटडाउन) हुनबाट जोगाउन एक अल्पकालीन कोष विधेयक पारित गरेको छ । शनिवार बिहान भएको मतदानमा उक्त विधेयकको पक्षमा ९० र विपक्षमा ६ मत परेको थियो । यस विधेयकले अधिकांश सङ्घीय सरकारी निकायहरूको कार्यसञ्चालनका लागि आगामी डिसेम्बर ११ सम्म वर्तमान स्तरमै बजेट सुनिश्चित गर्नेछ । सिनेटरहरू ग्रीष्मकालीन बिदामा जानुअघि घण्टौँसम्म चलेको गहन वार्तापछि यो सहमति जुटेको हो । विधेयकमा ह्वाइट हाउससँगको समन्वयमा केही विशेष प्रावधानहरू समेत समावेश गरिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार, सीमा सुरक्षा बल (बोर्डर पेट्रोल) लाई कुनै पनि रकम हस्तान्तरण गर्न नपाउने सुनिश्चितताका लागि डेमोक्र्याटहरूले विशेष बुँदाहरू समावेश गराएका छन् ।
१६. भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते
भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो । दुर्घटनाको समयमा बसमा कुल १८ जना सवार रहेको बताइएको छ । अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसैबीच, हिमाचल प्रदेशमा जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र पहिरोका कारण राज्यका १८५ वटा सडकहरू बन्द भएका छन् । राज्य आपतकालीन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार गत जुन ३० मा मनसुन शुरु भएयता हिमाचल प्रदेशमा कुल १४३ जनाले ज्यान गुमाइसकेका छन् ।
१७. म्यान्मारमा बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित
म्यान्मारको एयारवाडी क्षेत्रमा रहेको नगउन नदीको बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ताले सामाजिक कल्याण, राहत तथा पुनस्र्थापना मन्त्रालयलाई उद्धृत गर्दै जुलाई ३० देखि अगस्ट ७ सम्मको अवधिमा उक्त संख्यामा नागरिकहरू प्रभावित भएको जानकारी दिएका हुन् । एयारवाडी क्षेत्रको लेम्येथना टाउनशिपमा गत जुलाई ३० मा बालुवा उम्लिने र जमिन भासिने समस्या देखिएपछि बाँध फुटेको थियो । बाँध फुटेसँगै उक्त क्षेत्रका विभिन्न बस्तीहरू डुबानमा परेका थिए । बाढी पीडितहरूको सहयोगार्थ हाल विभिन्न स्थानमा अस्थायी राहत शिविरहरू सञ्चालनमा ल्याइएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार शुक्रवार रातिसम्म सहरी क्षेत्रमा बाढीको सतह क्रमशः घट्दै गएको छ भने अवरुद्ध भएका सञ्चार सेवाहरूमध्ये करिव ३५ प्रतिशत पुनः सुचारु भइसकेको छ ।
१८. साउदी र पाकिस्तानसँगको त्रिपक्षीय रक्षा सम्झौता नेटोको प्रतिवद्धताविपरित छैनः टर्की
टर्कीले साउदी अरब र पाकिस्तानसँग हालै गरिएको त्रिपक्षीय रक्षा सम्झौता उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को धारा ५ सँग बाझिएको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामाजिक सञ्जालमा फैलाइएका यस्ता दाबीहरू आधारहीन रहेको टर्कीको भनाइ छ । टर्कीको सञ्चार निर्देशनालयअन्तर्गतको डिइन्फर्मेसन कम्ब्याटिङ सेन्टरले शुक्रवार सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै यी आरोपहरूको खण्डन गरेको हो । केन्द्रले ती दाबीहरूलाई पूर्णतया निराधार र सुनियोजित रूपमा भ्रम सिर्जना गर्ने प्रयासको संज्ञा दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘साउदी र पाकिस्तानसँग गरिएको नयाँ रक्षा सम्झौताले टर्कीको नेटोप्रतिको प्रतिवद्धतामा कुनै पनि अवरोध पु¥याउँदैन ।’
१९. उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई संगसंगै लैजानुपर्ने बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताउनुभएको हो । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिव ४ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको बताउनु भयो । उहाँले अहिले पनि लगानी विस्तार, नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपालमा आर्थिक वृद्धिको आधार विस्तार गर्न पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिमा लगानी आवश्यक छ ।
२०. ट्राफिक प्रहरीबाट नागरिकले दुःख पाएको अब सुन्न नपरोस्ः सभापति गजुरेल
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ । आईतवार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताउनुभएको हो । उहाँले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताउनु भयो । उहाँले कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको बताउनु भयो । उहाँले संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उहाँको भनाई छ ।
२१. सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैनः ट्राफिक प्रहरी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरण गर्न नसकिने बताउनुभएको छ । आईतवार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिनुभयो । सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताउनु भयो । मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उहाँको भनाई छ ।
२२. समावेशिता नारामा सीमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत–साधनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समावेशिता नारामा मात्र सीमित नराखी राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्ने बताउनु भयो । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उहाँको भनाई छ । उहाँले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
२१. सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे
नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरुबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाउनुभएको हो । उहाँले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताउनु भयो । संविधानले आदिवासी जनजातिसहित महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्वलाई लिपिवद्ध गरेको उल्लेख गर्दै उहाँले ती उपलब्धिहरु कसैको निगाहमा प्राप्त नभएको बताउनु भयो ।
२२. १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताउनुभएको हो । उहाँले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गर्नुभयो । पार्टीको वृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई पार्टी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको लारिहेको पनि उहाँको भनाइ छ ।
२३. देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताउनु भयो । उहाँले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण काँग्रेसले अस्वीकार गरेको बताउनु भयो ।
२४. सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाउनु भयो । उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्नसक्ने तर लेन मिच्न नपाउने टिप्पणी गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पती छानविन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij