२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली नागरिक रिहा भएका छन् । नेपाल सरकार र म्यानमारस्थित नेपाली राजदूतावासको पहलपछि उनीहरूलाई मुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली दूतावासले निरन्तर पहल गरेपछि म्यानमारको जेलमा रहेका १८ नेपाली रिहा भएका हुन् । अब उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ ।
रिहा भएका नेपालीहरू म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ सेन्टरमा काम गरेको आरोपमा पक्राउ परेका थिए । केही महिनाअघि म्यानमार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार जेलमा राखेको थियो ।
पछिल्लो समय म्यानमार, थाइल्यान्डलगायत क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीसहित विभिन्न देशका नागरिकलाई लैजाने र अनलाइन ठगीसम्बन्धी काममा लगाउने घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।
यी १८ नेपालीको मुद्दामा म्यानमारको अदालतले सेप्टेम्बरको दोस्रो सातातिर रिहा गर्ने निर्णय गरेको थियो । तर नेपाल सरकारले मानवीय आधारमा समयअघि नै रिहा गरिदिन म्यानमार सरकारसँग आग्रह गरेपछि उनीहरूलाई अगावै जेलमुक्त गरिएको हो ।
रिहा भएका नेपालीहरूको यात्रा अनुमति, आवश्यक कागजातलगायत प्रक्रिया मिलाएर नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij