२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि।ले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
संस्थाको आफ्नै कार्यालय परिसर, गोंगबु गणेशस्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा कुल १३२ पिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष श्याम पाण्डेले जानकारी दिए । वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूले नियमित रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामी तथा घाइतेका लागि रगतको अभाव कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा विभिन्न उमेर समूहका रक्तदाताहरूको सहभागिता रहेको थियो ।
संस्थाको सामाजिक उप–समिति संयोजक लीला भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा संयोजक भण्डारीले रक्तदाता, सहकारीका सदस्य, कर्मचारी, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
उनले संस्थाले सामाजिक उत्तरदायित्वलाई आफ्नो नियमित गतिविधिको महत्वपूर्ण अंगका रूपमा अघि बढाउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । “अबका हरेक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ,” संयोजक भण्डारीले भनिन् ।
रक्तदान कार्यक्रम सम्पन्न गर्न ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.वी. ठकुरीको विशेष सहयोग रहेको थियो ।
वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय हुनुपर्ने सन्देश दिएको आयोजकको भनाइ छ । संस्थाले आगामी दिनमा पनि सदस्य तथा समुदायको हितलाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा जनमुखी कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij