२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले लिपुलेक क्षेत्रको गतिविधिदेखि मधेसमा जारी जातीय विभेद, सहकारी पीडितको समस्या र आपूर्ति व्यवस्थासम्मका विषयमा सरकारसँग जवाफ माग गरेका हुन्।
लिपुलेक क्षेत्रमा भारत र चीनले व्यापार सुरु गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै उनले नेपालको भूमिमा हुने गतिविधिबारे सरकार स्पष्ट हुनुपर्ने बताए। राज्य आफ्नो भूमिबारे बेखबर हुन नहुने उनको भनाइ थियो।
राईले ‘हिन्दु सम्राट सेना’ जस्ता निजी दस्ताहरू सक्रिय भएको भन्दै आपत्ति जनाए। नेपाली सेनाबाहेक अन्य कुनै पनि समूहलाई ‘सेना’ नाम प्रयोग गरेर गतिविधि गर्न रोक लगाउनुपर्ने उनको माग थियो।
मधेसका दलित समुदायले अझै पनि सार्वजनिक धाराबाट पानी भर्न नपाएको गुनासो गरिरहेको उल्लेख गर्दै उनले जातीय विभेद अन्त्य गर्न सरकारलाई आग्रह गरे।
गत साउन ५ गते जानकी मन्दिरमा आफ्नो पार्टीका ‘श्रमदाता’माथि दुर्व्यवहार भएको दाबी गर्दै उनले दोषीमाथि कारबाहीको माग गरे। साथै, वास्तविक सुकुमबासीलाई तत्काल धनीपूर्जा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे।
सहकारी पीडितहरूको बचत फिर्ताको व्यवस्था गर्न माग गर्दै उनले पीडितहरू फेरि सडक आन्दोलनमा आउनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गरे।
ग्यास र तेलको अभाव, विकास आयोजनाका ढिलासुस्ती तथा विदेशमा समस्यामा परेका नेपाली श्रमिकको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
राईले सरकारबाट केवल आश्वासन नभई जनताले अनुभूति गर्ने गरी कामको अपेक्षा गरेको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij