२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनले दक्षिण एसियामा बढाउँदै आएको क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धि प्रवर्द्धनमा नेपालले सेतुको भूमिका निर्वाह गर्न चाहेको बताएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) ले आयोजना गरेको ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री खनालले नेपालले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताए ।
उनले नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्दै चीन र दक्षिण एसियाबीच आर्थिक तथा क्षेत्रीय सहकार्य विस्तारमा योगदान दिनुपर्ने बताए ।
मन्त्री खनालका अनुसार नेपालले चीन र दक्षिण एसियाली मुलुकबीच व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा पुलको भूमिका निर्वाह गर्न सक्छ ।
उनले क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै दिगो विकास र साझा समृद्धिका लागि संवाद, पारस्परिक सम्मान र सहकार्यमा आधारित कूटनीतिक प्रयास आवश्यक रहेको बताए ।
बदलिँदो विश्व व्यवस्था र बहुध्रुवीय अन्तर्राष्ट्रिय परिवेशमा क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउन नेपाल सक्रिय भूमिका खेल्न तयार रहेको उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij