२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अभिषेक गिरी बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर पुगेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताएका छन्।
गिरी यसअघि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा परेका थिए। निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूबाट रकम असुलेको भन्दै दिएको किटानी जाहेरीका आधारमा सीआईबीले गत असार २३ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं लगेको थियो।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले तत्काल धरौटी रकम नबुझाएपछि डिल्लीबजार कारागार चलान गरिएको थियो। पछि धरौटी बुझाएर रिहा भएका गिरी विराटनगर आइपुग्नेबित्तिकै पुनः पक्राउ परेका हुन्।
सीआईबीको अनुसन्धानअनुसार विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीले आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत श्रेष्ठले पाएको ठेक्का सम्पन्न गरिदिने भन्दै रकम लिएर ठगी गरेको आरोप छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij