२०८३ आश्विन २ गते शुक्रवार
१. सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुनसरी लगायत पूर्वी तराईका जिल्लाहरुमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ । सोमवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका महामन्त्री प्रदीप पौडेलले सुनसरीमा दुई समुदायबीच भएको झडप र सुनसरी तथा सिरहामा गरी तीन जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको बताउनु भयो । काँग्रेसले यस विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने र न्यायिक समिति निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस प्रक्रियामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य र समन्वय गरिने महामन्त्री पौडेलले बताउनु भयो । नागरिकका मुद्दा र आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पु¥याउन नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
२. सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक ः विजयबहादुर स्वाँर
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समन्वय आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, वागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वअध्यक्ष स्वाँरले तीन तहका सरकारबीच ऐन, नियम र कानून निर्माणमा एकरूपता नहुँदा यातायात क्षेत्रमा अन्योल र द्वन्द्व सिर्जना भएको बताउनु भयो । सरकारहरूबीच प्रभावकारी समन्वय भएमा मात्र सार्वजनिक यातायातमा गरिएको लगानी सुरक्षित हुने र यस क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित संरक्षण हुने उहाँको तर्क छ । कार्यक्रममा स्वाँरले यातायात श्रमिकहरूको सामाजिक सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनु भयो ।
३. साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउन महिनाको तेस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ । विशेष गरी सोमवारको दिन भगवान शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरू लामवद्ध भएर दर्शन गरिरहेका छन् । साउन महिना र सोमवारको विशेष धार्मिक महत्वका कारण पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो चहलपहल रहेको छ । पशुपतिनाथका साथै मुलुकका अन्य प्रमुख शिव मन्दिरहरूमा पनि आज भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ । देशभरका विभिन्न स्थानमा रहेका शिवालयहरूमा भक्तजनहरूले महादेवको पूजा–आराधना गर्दै जल अर्पण गरिरहेका छन् ।
४. सरोकारवालासँगको परामर्शबिना ल्याइएको नियमावली दिगो हुँदैनः सांसद थपलिया
नेपाली काँग्रेसकी सांसद सीता थपलियाले सरकारले कुनैपनि नीति वा नियमावली तर्जुमा गर्दा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद थपलियाले सरकारले हतारमा निर्णय गर्नुभन्दा परामर्शसहितको निर्णय गर्दा त्यसले दिगोपन पाउने उल्लेख गर्नुभयो । व्यवसायीहरूले नियमावली नै चाहिँदैन नभनेको चर्चा गर्दै उहाँले जसका लागि नियमावली बनाइएको हो, उनीहरूसँगै छलफल नगर्नु सरकारको त्रुटी भएको टिप्पणी गर्नुभयो । सांसद थपलियाले नियमावलीले विद्यार्थीको हितलाई भन्दा पनि निश्चित व्यवसायी वा विचौलियाको स्वार्थलाई प्राथमिकता दिएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
५. सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नियन्त्रण नभई नियमन गर्न खोजेको स्पष्ट पार्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावनाबारे आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचेतक परियारले परामर्श व्यवसायीहरूलाई मानव बेचबिखनको एजेन्टका रूपमा चित्रण गरिनु गलत भएको बताउँदै नयाँ व्यवस्थाले व्यवसायीहरूलाई थप जिम्मेवार बनाउने र राज्यप्रति उनीहरूको योगदानलाई स्थापित गर्ने उल्लेख गर्नुभयो । विदेश अध्ययनमा जाने विद्यार्थीमार्फत ठूलो रकम बाहिरिएको विषयमा टिप्पणी गर्दै परियारले यसको सकारात्मक पाटोलाई पनि बिर्सन नहुने बताउनु भयो ।
६. सरकारको कार्यशैलीप्रति सांसद शर्माको आलोचनाः ‘कानूनी प्रक्रिया मिचियो, पपुलिजमले युवा भ्रमित पारियो’
राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले सरकारको कानूनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाउनु भयो । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको र त्यसको परिणामस्वरुप अदालतबाट पटक–पटक धक्का खाइरहेको उल्लेख गर्नुभयो । राहदानी विभागको भीड र किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै उहाँले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । घर–घरमा राहदानी पु¥याउने दाबी गरिए पनि व्यवहारमा नागरिकले सास्ती भोग्नु परेको र किसानले मल तथा बीउको अभाव झेलिरहनु परेको उहाँको भनाइ छ ।
७. सडक दुर्घटना न्युनिकरण र नागरिकको रक्षा नै ट्राफिक प्रहरीको मुख्य लक्ष्यः एसएसपी काफ्ले
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको प्राथमिक उद्देश्य सडकमा नागरिकको अकाल मृत्यु रोक्नु र दुर्घटना न्युनिकरण गर्नु रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा वागमती प्रदेश समितिद्वारा आयोजित सम्मान, पदस्थापन तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । एसएसपी काफ्लेले मुलुकको मौजुदा ट्राफिक अवस्था र दुर्घटनाको तथ्याङ्क प्रश्तुत गर्दै सडक सुरक्षामा सबैको गम्भीरता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँकाअनुसार हाल नेपालभर करिव ६७ लाख सवारी साधन दर्ता भएका छन् । जसमध्ये वार्षिक करिव ६३ लाख सवारी सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै दैनिक २० लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको तथ्याङ्क छ । उहाँले विगत १० वर्षमा ३० देखि ३२ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको उल्लेख गर्दै यो मृत्युदरलाई शुन्यमा झार्नु नै ट्राफिक प्रहरीको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
८. शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि धरौटी मात्र समाधान होइनः सांसद बराल
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, जिम्मेवार र स्तरीकरण गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद बरालले परामर्शदाताहरूले आफूलाई स्तरीकरण गर्दै त्रुटिरहित ढंगले अन्तर्राष्ट्रिय सेवा विस्तारमा लाग्नुपर्ने बताउनु भयो । व्यवसायीका लागि तोकिएको धरौटीको प्रवन्ध मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उहाँले धरौटीलाई ‘ग्यारेन्टी’का रूपमा रूपान्तरण गरिनुपर्ने तर्क गर्नुभयो । उक्त ग्यारेन्टीलाई कायम राख्न शैक्षिक उन्नयनका लागि आवश्यक नियमहरूद्वारा सम्बोधन गरिनुपर्ने उहाँको भनाइ छ ।
९.लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको ‘लुम्बिनी बचाउ महाअभियान’को आरोप
अन्तर्राष्ट्रिय पहिचान र धार्मिक–सांस्कृतिक गौरवको केन्द्र लुम्बिनीमा व्यापक आर्थिक अनियमितता, भ्रष्टाचार र पुरातात्विक सम्पदाको विनाश भइरहेको भन्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले आपत्ति जनाएको छ । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका प्रतिनिधिहरूले लुम्बिनी विकास कोषको विकृति र सरकारको उदासीनताप्रति आलोचना गरेका हुन् । महाअभियानका सहसंयोजक रामविकास चौधरीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संवेदनशीलतालाई नजरअन्दाज गर्दै राज्यले यसलाई स्थानीय घेराभन्दा बाहिर पु¥याउन नसकेको र विभिन्न समयका सरकारहरूले यसलाई ‘लुटधन्दा’को केन्द्र बनाएको आरोप लगाउनु भयो । उहाँले पटक–पटक खबरदारी गर्दा पनि सुनुवाई नभएको र उल्टै स्थानीय बासिन्दामाथि प्रहरी प्रशासनमार्फत दमन गरिएको गुनासो गर्नुभयो ।
१०. राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत
राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत गर्नुभएको हो । बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गर्नुभएको थियो । नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसदमा पेश गर्ने प्रावधान रहेको छ ।
११. राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहिता खोजेका हुन् । सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताउनु भयो । छिमेकी मुलुक भारतमा एलपी ग्यासको मूल्य घट्दा समेत नेपालमा आयल निगमले मूल्य नघटाएको र बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको उहाँको भनाइ छ । विशेषगरी रुकुम पश्चिममा होटल व्यवसायी र सर्वसाधारणले ग्यास अभावका कारण सास्ती खेप्नुपरेको भन्दै उहाँले तत्काल आपूर्ति सहज बनाउन माग गर्नुभयो ।
१२. यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन कार्यविधि आवश्यकः अध्यक्ष सिटौला
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन व्यवसायीहरू तयार रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित वागमती प्रदेश समितिको सम्मान, पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष सिटौलाले व्यवसायीहरू प्रविधि अपनाउन सकारात्मक भएपनि सरकारले स्पष्ट कार्यविधि नबनाएका कारण कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्नुभयो । उहाँले जीपीएस प्रणाली लगायतका प्रविधि जडानका लागि आवश्यक कार्यविधि तयार नभएको र हाल उपलब्ध प्रविधि महँगो भएकाले यसबारे सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । उहाँले व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग भेट्न समय माग गरिएको र सम्बन्धित मन्त्रालयमा समेत निरन्तर पहल भइरहेको बताउनु भयो । मिडियामा प्रचारबाजी गर्नुभन्दा पनि ठोस उपलब्धिका लागि आफूहरू सक्रिय रहेको बताउँदै उनले आगामी एक महिनाभित्र यातायात क्षेत्रमा केही सकारात्मक परिणामहरू देखिने दाबी गर्नुभयो ।
१३. मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ
राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता र विधिको शासन कायम हुनुपर्ने बताउनुभएको हो । सम्बोधनको प्रारम्भमा सांसद श्रेष्ठले गत साउन १४ गते पाकिस्तानको काराकोरम श्रृङ्खलामा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र गोरखाका पूर्णबहादुर गुरुङसहित १० जना आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
१४. मुलुकका समसामयिक समस्याप्रति सरकार संवेदनहीन र गैरजिम्मेवार बनेको सांसद देवकोटाको आरोप
राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद सम्झना देवकोटाले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकार पूर्णतः गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले साम्प्रदायिक सद्भाव, सीमा सुरक्षा, र जनसरोकारका विषयमा सरकारको ध्यान नगएको भन्दै आलोचना गर्नुभयो । उहाँले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । मन्त्रीहरूको भ्रमण लगत्तै कप्तानगञ्जबाट शुरु भएको धार्मिक विवाद सिराहा, धनुषा र पर्सा सम्म पुग्नुमा सरकारको अपरिपक्वता र हेलचेक्र्याइँ जिम्मेवार रहेको उहाँको जिकिर छ । सो घटनामा तीन जना निर्दोष युवाले ज्यान गुमाएको र करोडौँको धनमाल क्षति भएको उल्लेख गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
१५. मानव बेचबिखनको नयाँ स्वरूप र बढ्दो सामाजिक अस्थिरताप्रति सांसद गैरेद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा मानव बेचबिखनको स्वरूप बदलिएको र प्रविधिको दुरुपयोग गरी तस्करी बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । सांसद गैरेले बेरोजगारी र वैदेशिक रोजगारीको लोभमा परेर नेपाली नागरिकहरू आन्तरिक तथा वाह्य तस्करीको जालमा परिरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता घटनाको गम्भीर अनुसन्धान गरी तस्करहरूको खोजी गर्न सरकारसँग माग गर्नुभयो । सांसद गैरेले मुलुकमा बढ्दो सामाजिक अस्थिरता र सरकारको फितलो कार्यशैलीको पनि आलोचना गर्नुभयो ।
१६. मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको खुलासा
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा व्याप्त खानेपानीको अभाव र जलस्रोत व्यवस्थापनको समस्या समाधानका लागि दीर्घकालीन र दिगो योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पेश गर्दै उक्त सुझाव दिनुभएको हो । प्रतिवेदनकाअनुसार मधेस प्रदेशमा भूमिगत जलस्तरमा भएको तीव्र गिरावटले गर्दा खानेपानी आपूर्ति र कृषि क्षेत्रमा गम्भीर संकट निम्तिएको छ । जलवायु परिवर्तनका कारण वर्षाको ढाँचामा आएको परिवर्तन, चुरे भावर क्षेत्रको विनाश र अत्यधिक दोहनका कारण जल पुनर्भरण प्रक्रिया अवरुद्ध हुँदा भूमिगत जलस्तर औसतमा २ देखि ३ मिटरसम्म घटेको प्रतिवेदनमा उल्लेख छ ।
१७. भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक
महिला र पुरुषको फ्रेन्चाइज लिगसहित नेपाल भलिबल संघ (एनभिए) ले आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंको नक्शालस्थित होटल क्राउन प्लाजामा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, फ्रेन्चाइज लिग, रेफ्री प्रशिक्षक कोर्षका साथै विभिन्न उमेरसमूहका कुल १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो । उक्त वार्षिक कार्यक्रममा आगामी २० औं एशियाली खेलकुद पनि समावेश छ । यो प्रतियोगितासहित अन्तर्राष्ट्रिय भूमिमा हुने कार्यक्रम पनि वार्षिक क्यालेण्डरमा छन् । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले निर्धारित सबै कार्यक्रम सम्पन्न गर्ने गरी समावेश गरिएको बताएका छन् । यद्यपि सार्वजनिक गरिएका कुनै पनि कार्यक्रमको मिति तय भने गरिएको छैन ।
१८. बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
नेपाली खेलकुदमा मार्सल आटर््स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एशियाली खेलकुदका प्रतिष्पर्धामा मार्सल आटर््स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आटर््स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको शुरुवात थाइल्याण्डबाट भएको हो । विश्वप्रसिद्ध एक्शन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दैछ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो÷एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए । यो नै सबभन्दा ठूलो सफलता हो ।
१९. नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ
काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको दाबी जारी राखेको छ । तर खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दाबी र धरातलीय यथार्थ बीच ठूलो अन्तर रहेको बताउँछन् । नेशनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास विक्री–वितरण गर्ने समय तोकिएको छ ।
२०. डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना र सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले करिब २४ खर्ब रुपैयाँको बजेटमा विकासतर्फको खर्च अत्यन्तै न्युन हुनु चिन्ताको विषय भएको बताउनु भयो । डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव नरहेको उहाँको भनाइ छ ।
२१. अन्तर्राष्ट्रिय ऋण वा अनुदानका लागि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै
सङ्घीय संसदको अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ । सोमवार बसेको समितिको बैठकमा भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका प्रावधानहरूमा सहमति जुटेको हो । समितिका सचिव लक्ष्मण अर्यालकाअनुसार विधेयकको दफा १, २, ३ र ५ लाई प्रश्तावित रूपमै यथावत पारित गरिएको छ । दफा २ अन्तर्गतका विभिन्न उपदफाहरू र दफा ३ लाई पनि कुनै परिवर्तन नगरी स्वीकृत गरिएको छ । बैठकले विधेयकको दफा ४ मा उल्लेखित बैंकको उद्देश्यलाई थप स्पष्ट पार्दै परिमार्जन गरेको छ । जसअनुसार बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता कायम गर्ने, बैंकिङ, वित्तीय तथा वाह्य क्षेत्रको स्थायित्व कायम गर्ने र नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पु¥याउने तय गरिएको छ ।
२२. २५ किलोको विक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यकः अर्थ सचिव
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताउनुभएको छ । सोमवार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको विक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभएको हो । उहाँकाअनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैंकले हाल सुनको दैनिक विक्री सीमा २५ किलो तोकेको भएपनि निजी क्षेत्रबाट औसतमा दैनिक १७ देखि १८ किलो मात्र माग भइरहेको छ । यद्यपि, वर्तमान प्रणालीमा दुईवटा मुख्य समस्या रहेको उहाँले औंल्याउनु भयो । पहिलो, सुनको वितरण काठमाडौं केन्द्रित हुनु र दोस्रो, न्युनतम एक किलोको युनिटमा मात्र खरिद गर्नुपर्ने बाध्यताले साना व्यवसायीको पहुँच पुग्न नसक्नु रहेको बताउनु भयो ।
२३. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गर्नुभएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोज्नुभएको हो । जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलसन्धि र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिनुभयो ।
२४. इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु
इजरायलले आईतवार बिहान गजा पट्टीका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले यस साताको अन्त्यमा हमासका दुई कमाण्डरहरूलाई समेत मारेको दाबी गरेको छ । गजाको नागरिक प्रतिरक्षा बलका प्रवक्ता महमुद बासलकाअनुसार इजरायली लडाकु विमानहरूले आईतवार बिहानैदेखि आवासीय भवनहरूलाई निशाना बनाएका थिए । आक्रमणमा परी गजा शहरमा एकै परिवारका श्रीमान्, श्रीमती र एक बच्चाको मृत्यु भएको छ । यस्तै, दक्षिणी गजाको अल–मवासीमा एक बालबालिकासहित तीन जना र मध्य गजाको देर अल–बलाहमा एक वृद्ध दम्पतीले ज्यान गुमाएका छन् । यसैबीच, इजरायली सेनाले आईतवार एक विज्ञप्ति जारी गर्दै हमासका कमाण्डरहरू मोहम्मद अब्द अल–नासिर मोहम्मद खतिब र सलिम जमाल अब्द अल–रहमान अबु लाबाद मारिएको पुष्टि गरेको छ ।
२५. इण्डोनेसियाको जाभा समुन्द्रमा २५० यात्रु सवार जहाजमा भीषण आगलागी
इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा आईतवार करिव २ सय ५० जना यात्रु सवार एक जहाजमा भीषण आगलागी भएको छ । सुराबाया खोज तथा उद्धार कार्यालयले सो दुर्घटनाको पुष्टि गरेको हो । प्राप्त जानकारीअनुसार उक्त जहाज आईतवार बिहान पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित मकासरका लागि प्रस्थान गरेको थियो । सापुदी टापुबाट करिब १९ नटिकल माइल (३५.२ किलोमिटर) उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी सुरु भएको थियो ।
२६. इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता
इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित मदुरा टापुको उत्तरी जाभा सागरमा एउटा जहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मुतियरा सन्तोसा–२ नामक उक्त जहाजमा कुल २ सय ७१ जना सवार थिए । जसमा २ सय ३२ जना यात्री र ३९ जना चालक दलका सदस्य रहेका थिए । सुराबायाबाट माकासारतर्फ जाँदै गरेको उक्त जहाज तटभन्दा करिव १९ नटिकल माइल (३५.२ किलोमिटर) टाढा रहेको अवस्थामा भीषण आगलागी भएको थियो । जहाजमा आगो फैलिएपछि यात्रीहरू उद्धारको पर्खाइमा जहाजको ब्रिज र अगाडिको भागमा जम्मा भएका थिए ।
२७. इण्डोनेसियामा जलवायु शिखर सम्मेलनः जलवायु प्रतिवद्धतालाई कार्यान्वयनमा लैजान जोड
इण्डोनेसियाको राजधानी जकार्तामा शनिवार आयोजित ‘इण्डोनेसिया नेट–जिरो समिट २०२६’ मा सहभागीहरूले जलवायु परिवर्तनका क्षेत्रमा गरिएका प्रतिवद्धताहरूलाई ठोस कार्यमा रूपान्तरण गर्न आह्वान गरेका छन् । सम्मेलनमा नीति निर्माता, कुटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, व्यावसायिक नेतृत्व, युवा प्रतिनिधि र नागरिक समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले जलवायु संकटको सामना गर्न द्रुत कार्ययोजना र घनीभूत हरित सहयोगको आवश्यकतामा जोड दिएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै इण्डोनेसियाका वातावरण मन्त्री मोहम्मद जुम्हुर हिदायतले आगलागीको जोखिम न्युनिकरणका लागि सरकारले स्थानीय अधिकारीहरूलाई फोहर विसर्जन स्थल (डम्पिङ साइट) हरू ओसिलो राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।
२८. इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिनुभएको हो । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामथ्र्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो ।
‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर) मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उहाँले भन्नुभएको छ ।
२९. उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आयोजित एक शान्ति ¥याली नजिकै भएको आत्मघाती विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । सार्वजनिक विवरणअनुसार उक्त घटनामा अन्य २६ जना घाइते भएका छन् । मृतकहरूमध्ये अधिकांश ¥यालीको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू रहेको प्रहरी स्रोतले जनाएको छ । ¥याली लक्षित गरी गरिएको उक्त भीषण विष्फोटका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
३०. काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए
अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सातजना सशस्त्र लुटेरा मारिएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आईतवार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् । प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । प्रहरीको जवाफी कारबाहीमा सातजना संदिग्ध लुटेराको मृत्यु भएको र घटनास्थलबाट एउटा कारसहित केही हातहतियार तथा खरखजाना समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । उक्त भिडन्तमा एकजना सुरक्षाकर्मी घाइते भएको आधिकारिक जानकारी दिइएको छ । यद्यपि घाइतेको अवस्था र घटनाको थप विवरण भने सार्वजनिक गरिएको छैन ।
३१. पश्चिमी अमेरिकामा भीषण गर्मीः जनस्वास्थ्य र डढेलोको जोखिम उच्च
अमेरिकाको पश्चिमी क्षेत्रमा शनिवारदेखि शुरु भएको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तापक्रमले कीर्तिमानी स्तर कायम गरेसँगै स्वास्थ्य समस्या र डढेलोको जोखिम उच्च बनेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले क्यालिफोर्निया, एरिजोना, नेभाडा र उटाहका विभिन्न भागहरूमा अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ । दक्षिण–पश्चिमी मरुभूमि क्षेत्रहरूमा तापक्रम ४९ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।मौसम पूर्वानुमानअनुसार क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा तापक्रम ३९.४ डिग्री सेल्सियस नाघ्न सक्ने देखिएको छ । यस्तै, क्यालिफोर्नियाकै पाम स्प्रिंग्समा ४७.२ डिग्री र अत्यधिक गर्मीका लागि परिचित डेथ भ्यालीमा तापक्रम ५०.६ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ । अन्य राज्यहरूमा पनि गर्मीको उस्तै प्रभाव देखिएको छ ।
३२. युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते
युक्रेनको राजधानी किभमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । रुसी रक्षा मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना सशस्त्र बलहरूले रातभर किभका ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य–औद्योगिक प्रतिष्ठान र सैन्य रसद (लजिस्टिक) केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । मन्त्रालयकाअनुसार यो कारबाहीमा जमिन र समुद्रबाट प्रहार गरिने उच्च प्रविधिका हतियार तथा मानवरहित विमान (ड्रोन) हरुको प्रयोग गरिएको थियो । रुसले विशेषगरी किभ इलेक्ट्रोनिक इन्डस्ट्री एसेम्बली एन्ड कम्पोनेन्ट्स प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेको छ । उक्त उद्योगले युक्रेनको नेप्चुन–एमडी गाइडेड मिसाइल, एफपी–७ अपरेसनल–ट्याक्टिकल मिसाइलका साथै ग्रोम–२ मिसाइल प्रणालीका लागि आवश्यक विद्युतीय उपकरण र पाटपुर्जाहरू निर्माण गर्दै आएको थियो ।
३३. कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग
जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरीले कुटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसंग माग गर्नुभएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले उक्त माग गर्नुभएको हो । उहाँले पश्चिम नवलपरासीको सुस्ता–५ थारु टोलमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको उल्लेख गर्दै नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको विषयमा सरकार संवेदनशील हुनुपर्ने बताउनु भयो । उहाँले भावनात्मक प्रतिक्रिया भन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखी संयमित र जिम्मेवार ढंगले कुटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न, जनजीवन सहज बनाउन आवश्यक कदम चाल्न तथा सुस्ता लगायत सीमा विवादमा छिमेकी राष्ट्रसँग उच्चस्तरीय कुटनीतिक पहल गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने दीर्घकालीन समाधान खोज्न उहाँले आग्रह गर्नुभयो ।
३४. डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय डिजिटल प्रविधिको तिब्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानवअधिकारको चुनौतीका रूपमा उभिएको बताउनु भयो । यसको नियन्त्रणका लागि कानूनी, संस्थागत र प्राविधिक सुधारलाई तिब्र बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले साइबर बुलिङ, चरित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरुपयोग, डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्टकिङ र डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको बताउनु भयो । यस्ता अपराधबाट विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय बढी प्रभावित भएको उहाँको भनाई छ ।
३५. राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् । सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभाव देखिएको बताउनुभयो । भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटेपनि नेपालमा नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य नघटाएको उहाँको आरोप छ । उहाँले रुकुम पश्चिमसहित विभिन्न जिल्लामा एलपी ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेको भन्दै प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
३६. साइबर अपराध अनुसन्धानमा गुणस्तरीय सर्भिस दिन सकेका छैनौँः गृहसचिव श्रेष्ठ
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आवश्यक जनशक्ति, प्रविधि तथा स्रोत–साधन अभाव हुँदा साइबर अपराधको अनुसन्धान र नियन्त्रण प्रभावकारी हुन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उहाँले चाहना हुँदाहुँदै पनि सेवा दिन नसकेको बताउनुभएको हो । उहाँले बढ्दो सामाजिक सञ्जाल प्रयोगसँगै साइबर अपराध तिब्र रूपमा बढिरहेको बताउनु भयो । साइबर सम्बन्धी मुद्दा प्रत्येक वर्ष बढ्दै गएको उल्लेख गर्दै उहाँले अनुसन्धान गर्ने निकायसँग पर्याप्त जनशक्ति र आधुनिक प्रविधि नहुँदा नागरिकले समयमै गुणस्तरीय सेवा पाउन नसकेको स्वीकार गर्नुभयो । साइबर अपराधका उजुरीको अनुसन्धान प्राविधिक प्रक्रिया र कानूनी नियमनका कारण अपेक्षाभन्दा लामो समय लाग्ने उहाँको भनाई छ ।
३७. साइबर व्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याव नै छैनः महानिरीक्षक कार्की
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याव नै साईबर व्युरोमा नभएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साईवर सुरक्षासम्बन्धी छलफलमा उहाँले साइबर ब्युरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको बताउनुभएको हो । उहाँले हाल केही पुराना उपकरण भएपनि अपर्याप्त भएकाले प्रत्येक डिजिटल डिभाइस परीक्षण गर्न लामो समय लाग्ने गरेबो बताउनु भयो । साइबर अपराध अनुसन्धानमा डिजिटल फरेन्सिक अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले प्रत्येक मोबाइल, कम्प्युटर वा अन्य विद्युतीय उपकरणको वैज्ञानिक परीक्षण गर्नुपर्ने बताउनु भयो । डिजिटल फरेन्सिकबाट मेटाइएका सामग्रीसमेत पुनः प्राप्त गर्न सकिने भएकाले यसले अनुसन्धानमा महत्वपूर्ण प्रमाण उपलब्ध गराउने उहाँको भनाइ छ ।
३८. नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन र विघटनको गहिरो समीक्षा नगरिकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताउनुभएको छ । सोमवार २४ औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको उहाँको भनाइ छ । महासचिव पोखरेलले कम्युनिष्ट दलहरुले नेताहरुका टाउका नभई कार्यकर्ताको भावना जोड्ने कुराको सामथ्र्य राख्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरुबीचको झगडा भएको टिप्पणी गर्नुभयो । उहाँले नेताहरूबीचको सहमतिलाई मात्रै आधार बनाएर नभई कार्यकर्ताको भावना, नीति र साझा कार्ययोजनामा आधारित एकताले मात्रै आन्दोलनलाई पुनर्जीवित गर्नसक्ने बताउनुभयो ।
३९. वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता र वामपन्थी एकता गर्न हतार गर्न नहुने बताउनुभएको छ । सोमवार २४ औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताउनुभएको हो । उहाँले पर्याप्त छलफल नगरिकनै एकताको बाटोमा गए २०७५ सालको तत्कालीन नेकपा एकीकरणजस्तै अवस्थामा पुगिने कुरामा सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको सिद्धान्त र विचार मिलेकै आधारमा एकता दीगो नहुने भन्दै व्यक्तिका इच्छा र चाहानामा समेत भर पर्ने बताउनु भयो । नेपालले व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ठ राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कम्युनिष्ट आन्दोलन जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
४०. सार्वजनिक लेखा समितिमा १७ उजुरीमाथि छानबिन शुरुः आर्थिक अनियमितताका मुद्दामा गम्भीर हुन सांसदहरूको सुझाव
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानविन प्रक्रिया अगाडि बढाएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । समितिमा परेका १७ वटा उजुरीमाथिको प्रारम्भिक छलफलमा सांसदहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयका उजुरीहरुको सन्दर्भमा समिति गम्भीर बन्नुपर्ने बताएका छन् । उनीहरुले आर्थिक अनियमिततासम्बन्धी उजुरीहरुलाई समितिले गम्भीर रुपमा लिनुपर्ने धारणा राखेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले लेखा समितिसँगै अन्य न्यायिक निकायहरुमा समेत उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले समितिमा आउने उजुरीलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र नभई समग्र प्रवृत्तिका रूपमा विश्लेषण गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला आयोगकी अध्यक्षमाथि विगत १३ वर्षदेखि भ्रष्टाचारको आरोप लागेको भएपनि अहिलेसम्म टुंगोमा नपुगेको उल्लेख गर्नुभयो ।
४१. सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरुबीच कार्यगत सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले कार्यगत एकता गर्दा पार्टी नै एउटै हुन लाग्यो कि भन्ने भ्रम सिर्जना गरिएको भन्दै कार्यगत एकता हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पार्नुभयो । उहाँले सहकार्यलाई विषयगत र कार्यगत एकताको रूपमा व्याख्या गर्दै त्यसलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउन नहुने समेत बताउनु भयो । संयोजक दाहालले वामपन्थी एकताको लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij