२०८३ श्रावण १६ गते शनिवार
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार दिउँसो उक्त खाली घरमा अवैध रूपमा गाँजा सञ्चय गरिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्लास्टिकका ४८ वटा बोरामा राखिएको जम्मा ८ सय ४ किलोग्राम लागूऔषध गाँजा फेला परेको प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए । बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छथर जोरपाटी गाउँपालिका–४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij