२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । पर्यटन विभागले पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ६ जना नेपाली आरोहीको विवरण सार्वजनिक गरेको छ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ता आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।
बिहीबार ब्रोड पीक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोहीसहित विभिन्न देशका पर्वतारोहीहरू सम्पर्कविहीन भएका थिए। विभागले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग समन्वय भइरहेको उल्लेख गरेको छ।
पर्यटन विभागका अनुसार बेपत्ता नेपाली आरोहीहरूमा विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार पाकिस्तानस्थित नेपाली दूतावासमार्फत त्यहाँको सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ। खोज तथा उद्धार अभियानलाई तीव्र बनाउने प्रयास जारी रहेको उनले बताए।
विभागले यो कठिन घडीमा बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग गर्न तथा परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij