२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ ।
पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको आठ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।
आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेको बताइएको छ । अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए ।
मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने सामाचारमा उल्लेख छ । ब्रोड पिक पदयात्रा तथा पर्वतारोहणका लागि विश्वकै सबैभन्दा चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ । यो हिमाल विश्वको १२औँ अग्लो हिमालको रूपमा सूचीकृत छ ।
अल्पाइन क्लब अफ पाकिस्तानले विज्ञप्ति जारी गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । क्लबका अनुसार हेलिकोप्टरको सहयोग सुनिश्चित गर्न प्रयासहरू भइरहेको र उपलब्ध सबै साधनस्रोतहरू तत्काल परिचालन गरिएको छ ।
निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए । सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij