२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । उत्तरी कुवेतमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले घटनाको आधिकारिक पुष्टि गर्दै मृतकको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
मन्त्रालयले घटनाबारे थप जानकारी उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको जनाएको छ। राजदूतावासले कुवेती सम्बन्धित निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर समन्वय गरेर घटनाको यथार्थ विवरण संकलन गरिरहेको परराष्ट्रको भनाइ छ।
अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमणपछि त्यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सोही आक्रमणमा परेर नेपाली नागरिकको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
सरकारले घटनाबारे थप तथ्य संकलन गरी आवश्यक कूटनीतिक तथा मानवीय पहल अघि बढाउने जनाएको छ। साथै, कुवेतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij