२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।
यसको प्रभावले बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएका छन्।
कास्कीकी याङ्जाकोटमा पछिल्लो चौबीस घन्टामा ६०.६ मिलिमिटर वर्षा मापन भएको छ। जाजरकोटमा ५५ मिलिमिटर, लमजुङको भुजुङमा ५२.८ मिलिमिटर, दार्चुलाको धरमपानीमा ४५.६ मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४७.६ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात, पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
दिउँसो नै कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राति देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij