Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज दिनभरको ३१ खबर

आज दिनभरको ३१ खबर


  • 799
    Shares

    आज दिनभरको ३१ खबर
    images

    १. सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन

    सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । 
    सोमवार जनकपुरधामको रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले उक्त घटनाको विरोधमा प्रदर्शन गरेका हुन् । सुनसरीको कप्तानगञ्जमा आईतवार राति दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा परी अन्य नौ जना घाइते भएका छन् । 

    २. साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन

    वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्युन देखिएको छ । भगवान शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्व रहेको शास्त्रहरूमा उल्लेख छ । धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । देवघाटलाई एक पुण्य क्षेत्रका रूपमा लिइने हुनाले यहाँ हरेक वर्ष हजारौँको संख्यामा भक्तजनहरू स्नानका लागि आउने गर्दछन् । शास्त्रहरूमा ‘नदी तीर्थे कमा दानम्’ अर्थात् नदी किनारमा गरिने स्नान र दानले मानिसलाई कर्मबन्धनबाट मुक्त गराउने उल्लेख गरिएको छ । 

    ३. साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमवार पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो । पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् । पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ । पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ । 

    ४. समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले देशमा व्याप्त बेथिति र विकासका बाधाहरू हटाउन चालु वर्षलाई ‘कानून सुधार वर्ष’ का रूपमा अघि बढाइएको बताउनुभएको छ । नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन पर्याप्त कानूनी वातावरण आवश्यक हुने भन्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सोमवार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गौतमले केवल नेतृत्वको इच्छाशक्तिले मात्र परिवर्तन सम्भव नहुने र त्यसका लागि वाधक बनेका कानूनहरू परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । विगतका नेतृत्व र कार्यशैलीप्रति सम्मान व्यक्त गर्दै मन्त्री गौतमले समयको मागअनुसार विकासको गति बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विकासको मार्ग प्रशस्त गर्न र जनताको अपेक्षाअनुसार छिटो नतिजा निकाल्न कानूनी अड्चनहरू फुकाउनुको विकल्प नरहेको उहाँको तर्क छ । 

    ५. राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने बताएको हो । विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गर्नुभयो । विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उहाँले जग्गा प्राप्तिको कानूनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य शुरु गरिने आश्वासन दिनुभयो । भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गर्नुभयो । 

    ६. प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा सल्लाहकारको ठूलो फौज राख्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्यालाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको हो । बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले राज्यको ढुकुटीमाथि व्ययभार थपिने गरी अनावश्यक सल्लाहकार नियुक्त गर्ने परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको जानकारी दिनुभयो । 

    ७. नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने

    नेपालका पाँच खेलाडी जापानमा आयोजना हुने ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने भएका छन् । आगामी जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ । १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडीले बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन् । दुई गल्र्स र तीन जना ब्वाइज बेसबल फेयरमा सहभागी हुनेछन् । त्यसका लागि एक प्रशिक्षक र पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले टोलीलाई सफलताको शुभकामना दिँदै सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

    ८. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको

    नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात भएको छ । सोमवार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको हो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सिमित भएको छ । यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । 

    ९.नागढुङ्गा सुरुङमार्गको उद्घाटनः नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा

    नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमवार भव्य समारोहबीच उद्घाटन गरिएको छ । आयोजनाको मुख्य सुरुङ उद्घाटन गरिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदुत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गर्नुभयो । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्व राखेको राजदुत तोरुले बताउनु भयो । 

    १०. नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना

    नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण सिर्जित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन् । सुरुङमार्गको उद्घाटनका समयमा स्थानीयले आफ्ना विभिन्न मागहरूप्रति सरकार र आयोजनाको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनका क्रममा स्थानीयले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्याङ्कन र क्षतिपूर्ति, तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन् । त्यसैगरी, सुरुङमार्गमा स्थानीय बासिन्दालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई ‘विशेष प्रभावित क्षेत्र’ घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । धर्ना कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले राज्यले आफूहरूको समस्या समाधानमा तदारुकता नदेखाएको गुनासो गरे ।

    ११. कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चत

    विगत ११ दिनदेखि अवरुद्ध कोदारी राजमार्ग सुचारु गर्ने प्रयासस्वरुप सरकारको एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । २०८३ साउन १० गते पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो । राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले गरिएको यस निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थाँतथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका छन् । 

    १२. एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज

    मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेको दिन १४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । केडिया ग्रुपको आयोजनामा पहिलोपल्ट नेपालमा हुन लागेको पुरुषतर्फ फ्रेन्चाइज भलिबल लिगको अक्सनमा क्याटगोरी ‘ए’ का १४ खेलाडी सर्वाधिक मूल्य (एक लाख २० हजार) मा बिक्री भएका हुन् । कर्णाली शिवराजले सबैभन्दा धेरै चार खेलाडीलाई सर्वाधिक मूल्यमा किन्यो । यो सूचीको दोस्रो स्थानमा काठमाडौं रेड्स रह्यो । त्यसपछि काठमाडौं रेड्सले सर्वाधिक तीन खेलाडीलाई सर्वाधिक मूल्यमा आफ्नो बनाएको हो । ललितपुरस्थित होटल टुलिफमा आइतबार भएको उक्त अक्सनमा चिरञ्जीवी र सनोज ६ वटै फ्रेन्चाइज टोलीको रोजाईमा परेका हुन् । 

    १३. अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले शहरको अव्यवस्थित तार व्यवस्थापन कार्यको संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ । लगातारको वर्षाका बाबजुद दुवै मन्त्रीले छाता ओढेरै झुन्डिएका तार व्यवस्थापनको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको हो । अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिकूल मौसमका कारण काम रोकिन नहुने बताउनु भयो । कर्मचारीहरूले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उहाँले वर्षालाई अस्थायी अवरोधका रूपमा लिएर निर्धारित समयसीमाभित्रै कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । 

    १४. १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको लक्ष्य प्राप्त गर्न ‘मिसन मोड’ मा काम गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा सोमवार आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा तोकेर अघि बढ्न कर्मचारीहरूलाई आह्वान गर्नुभएको हो । अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत ‘मिसन मोड’ को अवधारणा आएको उल्लेख गर्दै राजश्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको ट्रेन्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै उहाँले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताउनु भयो । सहरी क्षेत्रको अर्थतन्त्र बलियो देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोमा उहाँले चासो व्यक्त गर्नुभयो ।

    १५. ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’

    चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘सी चिनफिङ विचारधारा’ वर्तमान विश्व राजनीतिको एक सफल र वैकल्पिक मोडेल भएको सरोकारवालाहरूले बताएका छन् । चिनियाँ विशेषतासहितको समाजवाद र नयाँ युगका लागि सीले अवलम्वन गरेको नीतिले वैश्विक शासन पद्धतिमा नयाँ आयाम थपेको उनीहरूको निष्कर्ष छ ।
    काठमाडौंमा आयोजित सी चिनफिङको पार्टी निर्माण सम्बन्धी विचारधारा’ विषयक कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले नेपाली कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको चर्चा गर्दै नेता खतिवडाले चीनबाट मुख्यतया एकता, दीर्घकालीन दृष्टिकोण र योजनावद्ध कार्यशैली सिक्नुपर्नेमा जोड दिनुभयो । 

    १६. इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू

    राष्ट्रिय सभाका सांसदहरूले इतिहास लेखनलाई तथ्यमा आधारित र एकीकृत बनाउन आवश्यक कानून निर्माण गरी सर्वमान्य संयन्त्र गठन गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले राजनीतिक इतिहासमा देखिएका विरोधाभास हटाई तथ्यमा आधारित इतिहास संरक्षण र लेखनमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले दलीय व्यवस्थामा राजनीतिक दलहरू इतिहासप्रति इमान्दार हुनुपर्ने बताउनु भयो । उहाँले तथ्यभन्दा आफ्नै व्याख्याअनुसार तोडमोड गरिएका इतिहासलाई सत्यमा आधारित बनाएर एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले इतिहासको संरक्षण तथा संकलनका लागि कानून निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । 

    १७. ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली

    पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले उर्जा क्षेत्रको विकासका लागि विद्युत ऐनलगायत कानूनलाई समयानुकुल बनाउन जरुरी रहेको बताउनुभएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २२ औँ स्थापना दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जासम्बन्धी ऐन तथा कानूनहरुमाथि छलफल गराउन सबै राजनीतिक दल र सांसदहरुमाथि आवश्यक दबाब सिर्जना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले उर्जा क्षेत्रको विकासका लागि छुट्टै छाता ऐन आवश्यक रहेको पनि बताउनु भयो । नेपाल विद्युत प्राधिकरणको ‘नेट बिलिङ’ प्रणालीले सौर्य ऊर्जा उत्पादक उपभोक्तामाथि अन्याय भएको पनि बताउनु भयो । उहाँले ‘नेट मिटरिङ’ लागू नगर्दा उपभोक्ताले लगानीअनुसार प्रतिफल नपाएको उहाँको भनाइ छ । 

    १८. परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल

    इतिहासविद् राजकुमार पोखरेलले बढ्दो प्रविधिको प्रयोग र एआईको कारण इतिहासको संरक्षण र ऐतिहासिक सामग्री संकलनमा चुनौती बढेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल माध्यममा प्रसारित अप्रमाणित ऐतिहासिक सामग्रीको प्रभावलाई न्युनिकरण गर्न कानूनी सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले  परराष्ट्र मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीसँग रहेका ऐतिहासिक महत्वका दस्तावेज लामो समयसम्म गोप्य राख्ने अभ्यासले कुटनीतिक तथा सुरक्षा इतिहासको अध्ययनमा बाधा पुगेको पनि बताउनु भयो । उहाँले कुटनीतिक तथा सुरक्षासम्बन्धी इतिहास निश्चित समयपछि राष्ट्रिय अभिलेखालय वा इतिहास संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

    १९. भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी

    राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारीले ऐतिहासिक सामग्रीको संकलन र इतिहासको संरक्षणको लागि आवश्यक कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले मुलुकको भाषा, संस्कृति र सभ्यताको संरक्षणका सरोकारवाला सबै गम्भीर बन्न जरुरी रहेको समेत बताउनु भयो । उहाँले आर्थिक, राजनीतिक, कानुनी, सांस्कृतिक तथा भेषभूषासहित सबै क्षेत्रको इतिहास व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

    २०. सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्यः राष्ट्रिय योजना आयोग

    राष्ट्रिय योजना आयोगका सदस्यसचिव रविलाल पन्थले सोह्रौँ योजना (आर्थिक वर्ष २०८१÷८२–२०८५÷८६)को लक्ष्य हासिल गर्न सामुदायिक संस्थाको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २२ औँ स्थापना दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सोह्रौँ योजनाको अन्त्यसम्म देशको विद्युत उत्पादन क्षमता ११ हजार ७६० मेगावाट पु¥याउने, शतप्रतिशत भूगोल र जनसंख्यामा विद्युत पहुँच विस्तार गर्ने तथा विद्युत चुहावट १३ दशमलव ५ प्रतिशतबाट १० दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य रहेको रहेको बताउनु भयो ।

    २१. इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड

    इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ । उक्त अवसरमा दुई नेताबीच द्विपक्षीय सहयोग सुदृढ गर्ने र क्षेत्रीय स्थिरता प्रवद्र्धन गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री अल–जैदीको सचिवालयले जनाएको छ । दुवै देशका मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको उक्त बैठक आर्थिक, राजनीतिक र सुरक्षा क्षेत्रमा आपसी सम्बन्ध विस्तार गर्न केन्द्रित थियो । भेटका क्रममा प्रधानमन्त्री अल–जैदीले इराक र लेबनानबीचको ऐतिहासिक र प्रगाढ सम्बन्धमाथि प्रकाश पार्नुभयो । उहाँले विभिन्न विकासका क्षेत्रहरूमा फलदायी आर्थिक साझेदारी निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    २२. चीनको गान्सु प्रान्तमा बाढीका कारण १० जनाको मृत्यु, २३ घाइते

    चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा आईतवार दिउँसो आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षासँगै आएको बाढीले पर्यटकीय क्षेत्रमा क्षति पु¥याउँदा उक्त हताहती भएको हो । डिङक्सी सहरको वेइयुआन काउन्टीस्थित एक पर्यटकीय क्षेत्रमा पर्यटकहरू क्याम्पिङ गरिरहेका बेला अचानक बाढी आएपछि उनीहरू त्यहाँ फसेका थिए । स्थानीय समयअनुसार आईतवार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार १० जनाको मृत्यु भएको र घाइतेहरूको उपचार भइरहेको छ । 

    २३. दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार

    दक्षिण चीन सागरको नान्शा टापुस्थित योन्शु रिफ नजिकै एक भियतनामी जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४६ जना चालक दलका सदस्यको उद्धार गरिएको छ । आईतबार रातिसम्मको विवरणअनुसार उद्धार गरिएकामध्ये ४५ जनालाई चिनियाँ उद्धार टोलीले र एक जनालाई भियतनामी पक्षले सुरक्षित फेला पारेका हुन् । चीनको सान्सा सहरका अधिकारीहरूकाअनुसार आईतवार राति करिव ८ः०५ बजे चिनियाँ उद्धार जहाज नान्हाई जिउ ११५ ले उद्धार गरिएका ४१ जनालाई भियतनामी नौसेनाको जहाज ट्रोङ सा–०१ मा हस्तान्तरण गरेको छ । उद्धार गरिएका अन्य ४ जनालाई सोमवार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

    २४. भारतको असममा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, ११ लाखभन्दा बढी प्रभावित

    भारतको उत्तरपूर्वी राज्य असममा जारी विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट राज्यका ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । हाल राज्यका २५ जिल्लाहरू बाढीको चपेटामा परेका छन् र स्थिति अझै गम्भीर बनेको छ । मुख्यमन्त्री शर्माले दिएको जानकारीअनुसार २ हजार १०० भन्दा बढी गाउँहरू जलमग्न भएका छन् । बाढी प्रभावित क्षेत्रका ११ लाखभन्दा बढी मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । उद्धार र राहत कार्यका लागि स्थानीय प्रशासनले प्रभावित जिल्लाहरूमा १७० वटा राहत शिविर र १ हजार ३०४ वटा राहत वितरण केन्द्रहरू स्थापना गरेको छ । 

    २५. यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण

    यमनको विद्रोही समूह हुथीले आईतवार उत्तरी प्रान्त अल–जौफमा साउदी अरबद्वारा सञ्चालित एउटा जासुसी ड्रोन खसालेको दाबी गरेको छ । यसैबीच, दक्षिणी लाल सागरमा एउटा व्यापारिक जहाज (ट्याङ्कर) लाई लक्षित गरी सुरक्षा आक्रमण भएको रिपोर्ट प्राप्त भएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अल–जौफको आकाशमा ‘शत्रुतापूर्ण कार्य’ मा संलग्न रहेको उक्त ड्रोनलाई ‘उपयुक्त हतियार’ प्रयोग गरी खसालिएको बताउनुभएको छ । यद्यपि, उहाँले सो कारबाहीबारे थप विस्तृत विवरण भने दिनुभएको छैन । 

    २६. स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित

    स्पेन पछिल्लो केही वर्षयताकै सबैभन्दा विनाशकारी डढेलोको संकटबाट गुज्रिरहेको छ । म्याड्रिड र छिमेकी प्रान्त एभिलाका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण दशौँ हजार मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने ठूलो संख्यामा नागरिकहरूलाई घरभित्रै रहन निर्देशन दिइएको छ । डढेलोले देशका हजारौँ हेक्टर वन क्षेत्र खरानी बनाएपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । मध्य स्पेनका धेरै भागहरूमा डढेलो नियन्त्रण बाहिर रहेको अधिकारीहरूले जनाएका छन् । रातको समयमा तापक्रममा केही गिरावट आएपनि तिब्र हावा र न्युन आद्र्रताका कारण अग्नि नियन्त्रणको प्रयासमा चुनौती थपिएको छ । म्याड्रिडकी क्षेत्रीय अध्यक्ष इसाबेल डियाज आयुसोले यस घटनालाई ‘यस क्षेत्रको इतिहासकै सबैभन्दा भयावह डढेलो’ को रूपमा चित्रण गरेकी छिन् । 

    २७. ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन

    ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ । सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो । सुरुङमार्ग उद्घाटनका क्रममा व्राह्मणहरुले स्वस्तिवाचनसहित पूजापाठ समेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदुत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरण समेत गर्नुभएको छ । उद्घाटनसंगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । 

    २८. नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल

    पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरु भएको बताउनुभएको छ । नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताउनुभएको हो । उहाँले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने बताउनु भयो । उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको शुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने बताउनु भयो । 

    २९. फौजदारी न्याय प्रणालीमा क्षतिपूर्तिको समेत माग गर्न थालेका छौँः महान्यायाधिवक्ता कँडेल

    महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडितमैत्री, प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरु गरेको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यलयका चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३÷०८४ – २०८७÷०८८) तथा गतआर्थिक वर्षको कार्यप्रगति सार्वजानिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक फौजदारी मुद्दामा अपराध पीडितका लागि अनिवार्य रूपमा क्षतिपूर्ति दाबी गर्ने अभ्यासको थालनी गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार यसअगाडी क्षतिपूर्ति दाबी गर्ने अभ्यास थिएन । नेपालको संविधान र फौजदारी अपराध संहिताले व्यवस्था गरेको क्षतिपूर्तिसहितको न्यायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू महान्यायाधिवक्ता भएर आएपछि शुरु गरेको उहाँको भनाई छ ।

    ३०. माईतीघरमा विद्यार्थीको सरकारलाई व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

    लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन् । उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठक गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीले उक्त निर्णयले लोकसेवा आयोगजस्तो संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको दाबी गरेका छन् । लोकसेवा आयोगले पदपूर्तिसम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरित रहेको उनीहरुको भनाई छ । प्रदर्शनमा सहभागी विधार्थी दीपक रेग्मीले लोकसेवा आयोगले आफ्नो संवैधानिक अधिकारअनुसार स्वतन्त्र रूपमा पदपूर्ति प्रक्रिया सञ्चालन गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले गरेको निर्णयले आयोगको स्वायत्तता कमजोर बनाएको आरोप लगाउनु भयो । 

    ३१. वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

    सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले सरकारले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् । सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरुको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गर्नुभयो । माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । –न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - २२:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij